नेपालगञ्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले गत आर्थिक वर्ष २०८१/०८२ मा फरार अपराधी पक्राउ गर्ने कार्यमा उल्लेख्य सफलता प्राप्त गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर घर्तिमगरले गत आर्थिक वर्षमा मात्रै बाँकेमा ६३९ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको बताए ।
उनले जिल्लाभरका विभिन्न स्थानबाट विभिन्न अपराध गरेर अदालतबाट सजाय तोकिए पनि लामो समयदेखि फरार रहेर लुकिछिपी बसेको अवस्थामा एक वर्षको अवधिमा ६३९ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको बताए ।
पक्राउ परेकाहरूबाट १८९ वर्ष आठ महिना एक दिन कैद र दुई करोड १८ लाख ३५ हजार ६३२ रुपैयाँ जरिवाना असुल उपर गरिएको प्रहरी उपरीक्षक घर्तिमगरले बताए ।
उनले पक्राउ परेका अपराधीहरूमध्ये केही त धेरै वर्षदेखि फरारको सूचीमा रहेकाहरू समेत रहेको बताए । जिल्ला प्रहरी कार्यालय बाँकेले गत केही वर्षदेखि फरार अपराधीलाई खोजी गर्ने अभियाननै सञ्चालन गर्दै आएको छ ।
त्यसका लागि विशेष टोली तयार गरेर सो टोलीलाई उक्त कार्यमा खटाइएको जनाइएको छ ।
सोही प्रकारले आर्थिक वर्ष २०८१/०८२ मा जिल्लामा प्रहरीको अपराध अनुसन्धान तथा कारबाहीमा एक हजार ४८६ मुद्दा दर्ता भएकोमा ती मुद्दाअन्तर्गत एक हजार ४५० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक पातलीले बताए ।
उनका अनुसार सो अवधिमा २२७ पेन्डिङमा रहेका मुद्दाहरूलाई समेत फछ्र्यौट गरिएको छ भने छ हजार ४१२ वटा ठाडो उजुरी प्राप्त भएकोमा पाँच हजार ७३४ उजुरीलाई फछ्र्यौट गरेर ९७८ वटा फछ्र्याैट प्रक्रियामा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार जघन्य अपराधतर्फको कारबाहीमा गत असोज २७ र २८ गते नाबालिकालाई सामूहिक बलात्कार गर्ने पाँच जनालाई पक्राउ गरिएको थियो भने २०८१ असोज २७ गते एक पुरुषको घाँटी रेटेर टाउको लुकाएर फरार रहेका आरोपीलाई ४८ घण्टाभित्र नियन्त्रणमा लिएर कानुनी प्रक्रियामा ल्याइएको थियो । त्यसैगरी नक्कली जग्गाधनी स्रेस्ता बनाई बैँकमा धितो राखी रकम ठगी गर्ने कार्यमा संलग्न रहेका सात जनालाई पक्राउ गरिएको थियो ।
प्रहरी नायब उपरीक्षक पातलीले दिएको जानकारी अनुसार बैजनाथ गाउँपालिकाको एक गाउँमा विवाह कार्यक्रममा एक युवकको हत्या गर्ने छ जनालाई पक्राउ गरिएको थियो भने नेपालगञ्जका इरसाद कवडियालाई खुकुरी प्रहार गरी हत्या गर्ने दुई जना र वैदेशिक रोजगारमा जापान पठाइदिन्छु भन्दै एक करोड २३ लाख रकम ठगी गर्ने महिलालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार