दाङ : दाङको दंगीशरण गाउँपालिका ३, चखौरास्थित थारू सांस्कृतिक संग्रहालय दाङको मुख्य गन्तव्य बन्दै गएको छ । थारू समुदायको कला, संस्कृति र परम्परागत पहिचान झल्काउने उद्देश्यले स्थापना गरिएको संग्रहालय अहिले पर्यटकीय गन्तव्य बनेको हो । अहिले संग्रहालय अवलोकनका लागि हरेक दिन आन्तरिक पर्यटकको घुइँचो लाग्छ ।
‘बिदाको दिन संग्राहलय अवलोकन गर्न आउने स्कुले बालबालिकाको झनै घुइँचो लाग्छ,’’ थारू सांस्कृतिक संरक्षण केन्द्रकी उपाध्यक्ष शान्ता चौधरी भनिन, ‘‘अघिपछि पनि दैनिक झन्डै ३०० जनाले संग्रहालय अवलोकन गर्न आउनुहुन्छ, चाडपर्वमा समयमा अवलोकनकर्ताको बढि भीड लाग्छ ।’’ उनका अनुसार टिकटको मूल्य १३० रुपैयाँ तोकिएको छ भने ज्येष्ठ नागरिकले ५० प्रतिशत छुट पाउँछन् । त्यस्तै, विद्यार्थीका लागि सय रुपैयाँ तोकिएको छ ।
पाँच बिघा क्षेत्रमा रहेको संग्रहालय २०७० सालमा स्थापना गरिएको थियो । यदपी यसको औपचारिक २०७५ सालदेखि सञ्चालनमा आएको उनले बताइन् । अहिलेसम्म संग्रहालय निर्माणमा २० करोड रुपैयाँ खर्च भएको उपाध्यक्ष चौधरी जानकारी दिइन् । त्यसमध्ये लुम्बिनी प्रदेश सरकारले तीन करोड ६५ लाख रुपैयाँ सहयोग गरेको उनले बताइन् ।
संग्रहालयमा पूर्वदेखि पश्चिमसम्म फैलिएका थारू समुदायका डंगौरा, डशौरी, राना, चितवन्या र पूर्वेली थारूका परम्परागत घर निर्माण गरिएका छन् । यस्तै पश्चिम तराईमा थारू समुदायको बरघर, मटावा तथा भलमन्साहरुको कचेहरी तथा बैठक बस्न लागेको झल्को, विविध नाचगानको तस्बिरहरु र मूर्तिका आकृति बनाएका छन् ।
यस्तै, थारू समुदायले परम्परागतदेखि प्रयोग गर्दै आएका माछा मार्ने हेल्का, जाल, खोंग्या र डेल्या, शिकार गर्ने हातहतियार तथा लुगा राख्ने भौका र ढक्या संग्राहालयमा राखिएका छन् । यस्तै, खटिया, खटौली, बेरी, ढच्या गोन्द्री, धान राख्ने डेह्री, कुठली र भकारी तथा दुलाहादुलही बोक्ने ड्वाला लहरै राखिएका छन् ।
त्यस्तै, थारु समुदायको परम्परागत विभिन्न गरहनाहरु, खेतिपातीमा प्रयोग हुने हलोजुवा, कोदाली समेत राखिएका छन । त्यस्तै सँगसँगै थारू राजा दंगीशरणको आकृति र घोडाघोडीको मूर्ति बनाएको छ ।
यस्तै, खोलामा माछा मार्दै गरेको थारू महिला, पुरुषहरुको परिदृश्यसमेत पोखरी निर्माण गरेर बनाएका छन् । त्यस्तै थारू समुदादयको मघौटा, छोक्रा, हुर्डंग्या, लठ्वा तथा बर्का लगायत नृत्य झल्किने कलाकृति समेत संग्रालयमा निर्माण गरिएका छन् । “देशभर छरिएका थारू संस्कृति, नाचगान, रीतिरिवाज, रहनसहन झल्काउने ५०० वटा आकृति बनाएका छौँ,’’ उनले भनिन, ‘‘एकै ठाउँमा देशभरका थारु समुदायको परम्परागत संस्कृति, रहनसहन एकै थलोमा अवलोकन गर्नसक्ने बनाएका छौं ।’’
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार