Listen LIVE

अख्तियार नेपालगञ्ज कार्यालयद्वारा ८७.२६ प्रतिशत उजुरी फछ्र्यौट

नेपालगञ्ज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जले ८७.२६ प्रतिशत उजुरी फछ्र्यौट गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा सम्पर्क कार्यालय नेपालगञ्जले कुल ९०३ उजुरी मध्ये ७८८ उजुरी फछ्र्यौट गरेको जनाएको छ । 

कार्यालय प्रमुख शम्भु प्रसाद रेग्मीका अनुसार जिम्मेवारी सरेको उजुरीको सङ्ख्या ११५ छ । उनले नेपालगञ्ज देशभरका अन्य सात कार्यालय मध्ये सबैभन्दा धेरै उजुरी फछ्र्यौट गर्ने कार्यालय रहेको बताए । 

बाँके, बर्दिया, दाङ र रोल्पा गरी चार जिल्ला कार्य क्षेत्र रहेको अख्तियार नेपालगञ्ज कार्यालयमा गत वर्ष दाङका ३५६, बाँकेको ३११, बर्दिया १४४ र रोल्पाको ९२ उजुरी थिए । बाँके जिल्लामा गत आर्थिक वर्ष २०८१÷८२ मा जिम्मेवारी सरेर आएका १० सहित सबैभन्दा बढी ३४ वटा उजुरी कोहलपुर नगरपालिकाको परेको थियो । यस्तै नेपालगञ्जको २९, डुडुवा २८ र नरैनापुर गाउँपालिकाको २३ उजुरी परेका थिए । 

नेपालगञ्जमा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा कार्यालय प्रमुख रेग्मीले उक्त तथ्याङ्क प्रस्तुत गरेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जको आयोजना एवम् नेपालगञ्ज उपमहानगरपालिकाको सहयोग तथा समन्वयमा सम्पन्न कार्यक्रममा नेपालगञ्जका नगर प्रमुख प्रशान्त विष्टले सुशासन प्रबद्र्धनका लागि प्रतिबद्ध रहेको बताउँदै सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको नियत सफा र आचरण शुद्ध हुनुपर्नेमा जोड दिए । 

प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले सुशासनलाई मूल मन्त्र मानेर कार्य सम्पादन गरे भ्रष्टाचार नियन्त्रणमा सघाउ पुग्ने बताए । कार्यक्रम अख्तियार नेपालगञ्ज कार्यालय प्रमुख रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राई, वडा अध्यक्ष, कार्यपालिका सदस्य, नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरी, विभिन्न शाखा प्रमुख, अधिकृत, वडा सचिव, उपमहानगरपालिकास्थित क्याम्पसका प्रमुख, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, गैरसरकारी संस्थाका प्रमुख एवम् प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया