हुम्ला : सदरमुकाम सिमकोट गाउँपालिका–७, कैलाश माध्यमिक विद्यालयका विद्यार्थीलाई दैनिक दाउरा बेचेर पढाइ र घरखर्चको व्यवस्था गर्नुपर्ने बाध्यता छ । घरको आर्थिक अवस्था कमजोर भएका कारण विद्यार्थीले दैनिक जङ्गलबाट दाउरा ल्याएर सदरमुकाम सिमकोटमा बिक्री गरी पढाइ र घरखर्च बेहोर्ने गरेका छन् ।
कक्षा ८ मा अध्ययनरत छात्र पुस्कल विक आर्थिक अवस्थाका कारण दैनिक दाउरा बेचेर खर्च जुटाउने गरेको बताउँछन् । जङ्गलबाट दाउरा ल्याई बजारमा बिक्री गरी त्यसबाट आएको पैसाले आफ्नो पढाइ र घरखर्च जुटाउनु परेको उनी बताउँछन् ।
सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत छात्र सविन्द्र शाहीले अघिल्लो दिन विद्यालय छुट्टी भएपछि तयार पारेर राखेको दाउरा बिहानै बोकेर सिमकोट पु¥याई बिक्री गर्ने गरेको बताए । उनले पनि घरको आर्थिक अवस्था कमजोर भएका कारण दाउरा बोकेर घरखर्च र पढाइ खर्चको व्यवस्था गर्ने गरेको बताए । “यसो नगरे घर चलाउन र पढाइ अगाडि बढाउन सकिँदैन,” उनले भने, “यो मेरो रहर नभएर बाध्यता हो ।”
सिमकोटमा दाउरा प्रतिभारी पाँच सय रुपैयाँमा बिक्री हुने गरेको छ । विद्यालयका प्रधानाध्यापक मेजबहादुर बुढाले अधिकांश विद्यार्थीले दाउरा बेचेर घरखर्च र पढाइको व्यवस्था गर्नुपर्ने बाध्यता रहेको बताए । उनले विद्यालयमा अध्ययनरत डेढ सय विद्यार्थीले वर्षमा डेढ सय दिन दाउरा बोकेर बिक्री गर्ने गरेको जनाए । घरको आर्थिक अवस्थाको कारण पढाइभन्दा दाउरा बोकेर बिक्री गर्ने कार्यमा बढी ध्यान दिने गरेका कारण पनि विद्यालयको पठनपाठन खस्कँदो अवस्थामा रहेको उनले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार