Listen LIVE

मृतक इनिशालाई न्याय दिलाउन नेपालगञ्जमा प्रदर्शन

नेपालगञ्ज : सुर्खेतकी १६ वर्षीया इनिशा विकको सामूहिक बलात्कारपछि हत्या भएको घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गर्दै शुक्रबार नेपालगञ्जमा प्रदर्शन गरिएको छ । भृकुटीनगरस्थित प्रभात मेमोरियल स्कुलका विद्यार्थी तथा शिक्षकहरूले प्रदर्शन गर्दै उक्त जघन्य अपराधमा संलग्न दोषीलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेका हुन् ।

प्रदर्शनका क्रममा सहभागीहरूले “इनिशालाई न्याय देऊ”, “बालिकामाथि हुने बलात्कार, हिंसा र हत्या बन्द गर” लगायतका नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रदर्शनमा सहभागीहरूले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न कडा कानुनी व्यवस्था आवश्यक रहेको बताएका छन् । 

साथै यस्ता अपराधमा संलग्नलाई कडा भन्दा कडा सजाय सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् । उनीहरूले आगामी दिनमा यस्ता जघन्य घटना दोहोरिन नदिन सरकार तथा सम्बन्धित निकायले प्रभावकारी कदम चाल्नुपर्नेमा समेत जोड दिएका छन् ।

प्रतिक्रिया