Listen LIVE

राष्ट्रिय परिचय पत्रका लागि आवेदन दिने धेरै, लिने कम

दाङ : दाङमा बायोमेट्रिक विवरणसहितको राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएपनि लिने नागरिकको सङ्ख्या भने न्यून देखिएको छ । जिल्ला प्रशासन कार्यालय घोराहीमा राष्ट्रिय परिचयपत्र तयार भएर आइसक्दा समेत राष्ट्रिय परिचयपत्र लिन भने कम मात्रामा नागरिक आउने गरेका छन् ।

राष्ट्रिय परिचयपत्रका लागि दाङमा पाँच वर्षको अवधिमा तीन ८० हजार सात सय ७७ जनाले आवदेन दिएका छन् । आवेदन दिएकामध्ये ४५ हजार चार सय ५० जनाको परिचयपत्र जिल्लामा आए पनि लिनेको सङ्ख्या भने हालसम्म २० हजार सात सय १६ जना मात्र रहेको सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले बताएका छन् ।

उनले जिल्लामा २४ हजार सात सय ३४ जनाको राष्ट्रिय परिचयपत्र आइसकेको भए पनि लिन नआएको बताए । दाङमा २०७७ साल साउनदेखि राष्ट्रिय परिचयपत्र बनाउन सुरु गरिएको थियो । २०७७ साउनदेखि २०८२ वैशाखसम्म तीन लाख ८० हजार सात सय ७७ जनाले आवेदन दिएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । आवेदन दिनेमा दुई लाख दस हजार तीन सय ८८ जना महिला र एक लाख ७० हजार तीन सय ८९ जना पुरुष रहेका छन् ।

जिल्लामा तीन स्थानबाट राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिने र लिने व्यवस्था गरिएको छ । जिल्लाबाट आवेदन दिएका तीन लाख ८० हजार सात सय ७७ जनामध्ये ४५ हजार चार सय ५० जनाको परिचयपत्र आएपनि तीन लाख ३५ हजार तीन सय २७ वटा राष्ट्रिय परिचयपत्र आउन बाँकी रहेको सहायक प्रमुख जिल्ला अधिकारी बुढाले बताए ।

सरकारले राहदानीलगायतका सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि लाइन लागेर बनाइएका कार्ड लिन भने सम्बन्धित व्यक्ति नआएको सहायक प्रमुख जिल्ला अधिकारी बुढाले बताए । उनले भने, ‘‘राज्यका सेवा लिन तत्काललाई राष्ट्रिय परिचयपत्र नम्बर मात्रै भए हुने व्यवस्थाले नागरिकले परिचयपत्रलाई व्यवस्था गरेको हुन सक्छ । कतिपय रोजगारीको सिलसिलामा विदेश गइसकेकाले पनि लिन नआएको देखिन्छ ।’’

सरकारले व्यक्ति विवरणसँगै राहदानी, जग्गाधनी पूर्जा, सवारी चालक लाइसेन्स, मतदाता नामावलीलाई विवरण व्यवस्थित गर्न राष्ट्रिय परिचयपत्र बनाएको बताउँछन् । जिल्ला प्रशासन कार्यालयबाट दैनिक सय बढीले आवेदन दिने गरेकोपनि लिन आउनेको संख्या भने करिव १०–१५ जना मात्र आउने गरेको बताउँछन् । 

सरकारले बैंक खाता खोल्न, राहदानी बनाउन र सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि जिल्ला प्रशासन कार्यालयसँगै इलाका प्रशासन कार्यालयहरुमा राष्ट्रिय परिचयपत्र बनाउन नागरिक आउने गरेका छन् । राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय घोराही, इलाका प्रशासन कार्याय लमही र इलाका प्रशासन कार्यालय तुलसीपुरबाट लिन सकिने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया