Listen LIVE

हनुमान जयन्तीका अवसरमा नेपालगञ्जमा धार्मिक कार्यक्रम

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका– २ स्थित हनुमानगढीमा हनुमान जयन्तीका अवसरमा धार्मिक कार्यक्रम शुरु गरिएको छ । 

अखण्ड रामायण पाठ, अष्टयाम सङ्कीर्तन एवं निशान पूजनसहित सुरु भएको हनुमान जयन्तीमा भारतको कानपुरबाट आएको १२ जनाको टोलीले विशेष झाँकी, श्रीराम भजन, ताण्डव नृत्यलगायत कथा प्रवचन गर्ने हनुमानगढी मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सुदिप भट्टराईले जानकारी दिए । 

त्यसक्रममा भजनकीर्तनसहित मञ्चमा हनुमान चालिसा, सुन्दरकाण्डलगायत कथा प्रवचन निरन्तर होम हुने उल्लेख गर्दै भट्टराईले काठमाडौँ, विराटनगर, बुटवल, सुर्खेत, सल्यान, भारतको बहराइच, सेराबस्ती, गोन्डालगायत क्षेत्रबाट यहाँ भक्तजनको सहभागिता रहने बताए ।

 हनुमान जयन्तीको अन्तिम दिन शोभायात्रापछि करिब १२ हजारका लागि भण्डारा (भोजन) कोसमेत व्यवस्थापन गरिएको छ ।

हनुमानगढीका थानापति महन्थ उमेश गिरीले यस्तो पवित्र स्थानमा भौतिक संरचनाको विकास नभएको गुनासो गरे । विगतमा फोहर व्यवस्थापन गर्ने, कुस्ती खेल्ने ठाउँ र बाल्दा नामको ऐतिहासिक तलाउ रहे पनि ऋषिमुनिको आगमनपछि पाँच करोड गायत्री मन्त्रको जप भएको स्थानका रूपमा रहेकाले यसको महिमा उँचो रहेको उनले बताए  । 

मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिका सचिव विश्वराज तिवारीले धार्मिक क्षेत्रमा हनुमानगढीको गरिमा बढ्दै जाँदा यसले धार्मिक पर्यटनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । हनुमान जयन्तीको अन्तिम दिन अर्थात् शनिबार बिहान शोभायात्रासहितको धार्मिक झाँकीले बजार परिक्रमा गर्ने उनले जानकारी दिए ।

प्रतिक्रिया