नेपालगञ्ज : दसैँतिहार जस्ता ठुला चाडपर्वमा पश्चिम नेपालका हिमाली र पहाडी जिल्लामा नुनको अभाव हुन नदिन साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड नेपालगञ्ज कार्यालय अहिले नुन प्याकिङ गरेर पठाउन व्यस्त छ ।
कर्पोरेसन लिमिटेडले भारतबाट नुन ल्याउने र प्याकिङ गरेर पहाडी तथा हिमाली जिल्लामा पठाउँदै आएकाले अहिले चाडपर्वको माग पूरा गर्न तथा जनतालाई नुन सहज रूपमा उपलब्ध गराउन कार्यालय दिनरात नभनी जुटेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड नेपालगञ्जका प्रबन्धक मनोज चौधरीले बताए ।
उनले कर्णाली प्रदेश कार्यालयको मुकामका रूपमा रहेको नेपालगञ्ज कार्यालयले बाँके र बर्दियासँगै कर्णाली प्रदेशका सबै पहाडी र हिमाली जिल्लामा नुन पठाउने गरेको बताए ।
अहिले दसैँतिहारलक्षित गरेर ट्रकमा आएको नुन झार्न र प्याकिङ गर्न कर्मचारीलाई भ्याइनभ्याइ भएको जनाउँदै प्रबन्धक चौधरीले चाडपर्वका बेलामा अति विकट हिमाली जिल्लामा समेत नुनको अभाव हुन नदिन कार्यालयले हरसम्भव प्रयास गरिरहेको बताए ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड नेपालगन्जका अनुसार भारतको गुजरातबाट सीतापुरसम्म रेल र त्यहाँबाट ट्रकमा नुन नेपालगञ्ज ल्याइन्छ । त्यो नुनलाई नेपालगञ्जमा ल्याएर प्याकिङ गरी ढुवानी गर्ने गरिन्छ ।
कर्पोरेसनले आयो नुन २६ र न्यू शक्ति २० रुपियाँ प्याकेटमा बेच्ने गरेको छ । हुम्ला, जुम्ला, डोल्पा, मुगु, कालीकोट, जाजरकोट, रुकुम र रोल्पामा कर्पोरेसनले ढुवानी अनुदान दिएको ‘भानु नुन’ बिक्री गर्ने गरेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड नेपालगञ्जले जनाएको छ ।
कार्यालयका प्रबन्धक चौधरीका अनुसार यो नुनको मूल्य प्रतिप्याकेट नौ रुपियाँ पर्छ । भानु नुन बजारमा बिक्रीवितरण गर्न पाइँदैन । जनसङ्ख्याका आधारमा कोटा छुट्याएर सरकारले यी जिल्लामा सहुलियतमा भानु नुन दिँदै आएको छ । नेपालगन्जबाट भानु नुन वर्षमा ३५ हजार क्विन्टलभन्दा बढी पठाइने गरिएको कर्पोरेसनका प्रबन्धक चौधरीले जानकारी दिए ।
उनका अनुसार सरकारको सहुलियतले गर्दा हिमाली जिल्लामा नुन आधाभन्दा बढी सस्तो पाइन्छ । सरकारले नुनको मूल्यभन्दा ढुवानी खर्च बढी बेहोर्ने गरेको छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड नेपालगञ्जका प्रमुख चौधरीले ५० लाख नुनको मूल्य पर्दा ढुवानी खर्च डेढ करोड हुने बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार