Listen LIVE

अवैध माछाले बजारीकरणमा समस्या

रुपन्देही : भारतीय बजारबाट अवैध रूपमा भित्रिएका माछाका कारण रुपन्देहीका कृषक समस्यामा परेका छन् । अवैध माछाका कारण स्थानीय कृषकले बजारीकरणको समस्या भोग्नु परेको हो ।

रुपन्देही माछा व्यवसायी सङ्घका अध्यक्ष दिपु भुसालले व्यावसायिक रूपमा माछापालनमा लागेका कृषकका लागि महँगो दानादेखि भारतीय अवैध माछा बाधक रहेको बताए । दाना महँगो हुँदा साना माछा नै पोखरीबाट निकालेर बिक्री गर्नुपर्ने बाध्यताका कारण अपेक्षा अनुसार बजार पाउन नसकेको उनको भनाइ छ । 

रुपन्देहीमा माछाका लागि प्रसिद्ध सियारी गाउँपालिकाको छपियाका माछापालक कृषक तारा पाण्डेले भारतबाट अवैध रूपमा भित्रिने माछाले छपियाको माछाको बजारीकरणमा निकै समस्या परेको बताए । “नेपाली माछाको आकार सानो हुन्छ,” उनले भने “भारतीय माछा ठुलो हुने र काँडा पनि कम हुने भएकोले उपभोक्ताले पनि ठुलै माछा खरिद गर्छन् ।” माछाको आकार बढाउन दाना महँगो पर्ने हुँदा किसानहरूले सानोमै बिक्री गर्ने र त्यसका कारण बजार पनि पाउने समस्या भोग्नु परेको उनले बताए । माछाको बजारीकरणका लागि छपियाका किसानले जिउँदो माछा रुपन्देहीका विभिन्न बजारसहित छिमेकी जिल्लामा पनि लगेका थिए तर जिउँदो माछा बिक्रीका लागि समस्या भएपछि अहिले त्यस क्षेत्रका कृषक फ्रोजन युनिट स्थापना गरी बजारीकरणमा लागेका छन् । 

फ्रोजन माछाको बजारीकरणका लागि सियारी–५, छपियामा रहेको श्री जलदेवी मत्स्य सहकारी संस्थाले प्रबन्ध मिलाइरहेको छ । उक्त सहकारीका अध्यक्ष थमनबहादुर थापाले पहिलो चरणमा छ क्विन्टल फ्रोजन माछा बजारमा पठाइएको बताउनुभयो । पछिल्लो समय रुपन्देही देशभरमै धेरै माछापालन हुने जिल्लामध्येमा पर्न थालेको छ । माछापालनको क्षेत्रफल एक हजार हेक्टर नाघेपछि आर्थिक वर्ष २०७५–७६ मा सियारीसहित सात पालिका र ४४ वडा सुपरजोनमा परिणत भएको प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना, परियोजना कार्यान्वयन एकाइ रुपन्देहीका प्रमुख नारायण काफ्लेले बताए । उनका अनुसार सुपरजोनमा सियारी, शुद्धोधन, गैडहवा र मायादेवी गाउँपालिकाका साथै बुटवल उपमहानगरपालिका, तिलोत्तमा, लुम्बिनी सांस्कृतिक र सिद्धार्थनगर नगरपालिकाका वडा समावेश छन् ।

रुपन्देहीको माछा सुपरजोन प्रभाव क्षेत्रमा हाल एक हजार ११२ हेक्टर जलाशय क्षेत्र रहेको छ । त्यस क्षेत्रबाट छ हजार ८९५ मेट्रिक टन माछाको उत्पादन भइरहेको परियोजनाले जनाएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनाका अनुसार सियारीको ४१५ हेक्टरमा दुई हजार ५२६ मेट्रिक टन माछा उत्पादन हुने गरेको छ ।

प्रतिक्रिया