Listen LIVE

व्यवसायमा व्यस्त द्वन्द्वपीडित महिला

नेपालगञ्ज : बर्दियाको राजापुर नगरपालिका–२, बालाबजारकी नविना थारू २०५८ सालमा श्रीमान् नेपालगञ्ज पढ्दै गर्दा राज्यपक्षबाट बेपत्ता पारिए । श्रीमान् बेपत्ता भएपछि नविना एक्लो भइन् । पछि पारिवारिकरूपमा पनि एक्लिएकी नविनाले सिलाइ कटाइ तालिम लिएर व्यवसाय शुरु गरिन् । पहिले श्रीमानको यादमा तड्पिने उनी आफ्नो व्यवसायमा व्यस्त भएपछि आफ्नो पीडा कम भएको महसुस गरेकी छन् ।  

श्रीमान् बेपत्ता हुँदा पेटमा भएकी राजापुर नगरपालिका–६ की शिवा थारूकी कान्छी छोरीको समेत विवाह भएपछि उन घरमा एक्लै भइन् । चार जना छोरीकी आमा शिवा घरमा एक्लै हुँदा टोलाएर बस्थिन् । राजापुर नगरपालिकाले भैँसी पालन व्यवसायका लागि एक लाख सहयोग गरेपछि शिवाका लागि साथी र व्यवसाय दुवै भएको छ ।

घरखर्च चलाउन नसकेर आपतमा परेकी राजापुर नगरपालिका–५, जयपुरकी शहीदपत्नी राजकुमारी थारूले अहिले खसी बाख्रा बेचेर घरखर्च चलाउन थालेकी छन् । उनले भनिन, ‘‘पहिले खाली बस्थे अहिले काम पनि गर्छु पैसा पनि आउँछ ।’’

राजापुर नगरपालिकाका बेपत्ता र शहीदका एक सय नौ जना परिवारहरू सबै व्यवसायमा व्यस्त छन् । द्वन्द्वपीडित समिति राजापुरकी अध्यक्ष लौटनकुमारी थारूले भनिन –‘‘मैले पनि सिलाइकटाइ व्यवसाय गर्छु राजापुर नगरपालिकाले सिलाई सामान सहयोग गरेपछि अरुलाई समेत रोजगारी दिएकी छु ।’’

राजापुरका शहीद र बेपत्ताका परिवारहरू अहिले आ–आफ्नो व्यवसायमा व्यस्त छन् । बाख्रा पालन, बंगुरपालन, भैँसीपालन, किरानापसल र सिलाईकटाईका लागि राजापुर नगरपालिकाले सहयोग गरेको छ । द्वन्द्वकालमा बेपत्ता पारिएका ३४ जना र शहिद भएका ७५ जना गरी एक सयनौ घरपरिवारलाई राजापुर नगरपालिकाले जिविकोपार्जनका लागि एक एक लाख सहयोग गरेको राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढाले बताए । विगत तीन आर्थिक वर्षमा सबै परिवारलाई नगरपालिकाले सहयोग गरेको बताउँदै उनीहरू सबैले व्यवसाय गरिरहेको बताए ।

राजापुर नगरपालिकाकी उपप्रमुख मनकला कुमारी चौधरीले जिविकोपार्जनका लागि बेपत्ता तथा शहीदका परिवारलाई सहयोग गरेपछि उनीहरू व्यवसायमा भुलेको र मानसिक तनाव कम भएको बताइन् । ‘‘कतिपय परिवारको त बाख्राका पाठा किनेर पाल्नेसम्म आर्थिक स्रोत थिएन ।’’ उनले भनिन, ‘‘ति परिवारले बाख्रा पालन गरेर घरखर्च चलाएका छन् । सिलाइकटाइ व्यवसाय गरेकाले त अरुलाई रोजगारी समेत दिएका छन् ।’’

द्वन्द्वपीडित परिवारलाई सरकारले न्याय र परिपुरणको व्यवस्था नगर्दा झन् पीडित भएको राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारूले बताए । पीडितहरूको घाउमा थोरै भए पनि मल्हम लगाउनका लागि राजापुर नगरपालिकाले जिविकोपार्जनको कार्यक्रम ल्याएको बताए । बेपत्ता र शहीदहरूको स्मृति कार्यक्रम, जिविकोपार्जन, स्वास्थ्य बिमा जस्ता कार्यक्रम गरेर उनीहरूको घाउमा मल्हम लगाउने काम गरेको बताए ।

प्रतिक्रिया