नेपालगञ्ज : खाद्य व्यवस्था तथा व्यापार कम्पनी नेपालगञ्जले तराईका जिल्लामा किसानबाट धान खरिद गरि पहाडी तथा हिमाली जिल्लामा पठाउँदै आएको छ । खाद्य संस्थानले बाँकेमा मोटा र मध्यम धान खरिद गरि त्यसबाट चामल बनाएर पहाडी जिल्लामा पठाउने गरेपनि बिक्रि नहुँदा गोदाममै थन्किएको अवस्था छ ।
खाद्य व्यवस्था तथा ब्यापार कम्पनी नेपालगञ्जका प्रमुख रामशरण लामिछानेले बिगतमा यहाँबाट पठाइएको चामल बिक्रि हुँदै आएपनि गतबर्षदेखि चामल बिक्रि नभएर खाद्यको गोदाममै थन्किएको जानकारी दिए ।
उनले भने, “गत वर्ष पठाइएको चामल अहिलेसम्म बिक्रि नभएर गोदाममा थन्किएको छ, हाल नेपालगञ्ज गोदाममा पनि २२ हजार क्विन्टल चामल मौज्दात रहेको छ ।”
लामो समयदेखि पहाडी तथा हिमाली जिल्लामा तराईका जिल्लाबाट चामल पठाउँदै आएको खाद्यले पछिल्लो समय ति जिल्लामा मोटा र मध्यम भन्दापनि स्टीम जिरा र बासमति चामलको माग बढेको जनाएको छ ।
मसिनो चामलको मागसँगै चामल महङ्गो हुनु, स्थानीयले ब्यापारीसँग उधारोमा चामल पाउनु लगायतका कारण चामल बिक्रि हुन कम भएको खाद्यले दाबी गरेको छ ।
खाद्यले गत आवमा बाँके र बर्दियास्थित कारागारमा ३४ हजार ५२२ क्विन्टल, कर्णालीमा २४ हजार ८०९ क्विन्टल र कार्यालयबाट २४० क्विन्टल चामल गरि ६१ हजार ३१ क्विन्टल चामलको कारोबार गरेको थियो ।
खाद्यले यस वर्ष २० हजार क्विन्टल धान खरिद गरिरहेको छ । गत वर्षको चामल बिक्रि नभएपछि खाद्यले यो बर्ष धान खरिदको कोटा घटाएको छ । गत बर्ष ३२ हजार क्विन्टल धान खरिद गरिएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार