Listen LIVE

लोपोन्मुख रेड पान्डाको जुम्लामा संरक्षण गरिँदै

जुम्ला : लोपोन्मुख अवस्थामा रहेको हाब्रे (रेड पान्डा) संरक्षण गर्न जुम्लामा विभिन्न कार्यक्रम सुरु गरिएको छ । जुम्लाका केही सम्भावित स्थानमा साझेदार निकायमार्फत संरक्षणका कार्यक्रम थालिएको हो । 

जिल्ला समन्वय समिति, जिल्ला वन कार्यालय, पशु अस्पताल तथा पशु सेवा कार्यालय र स्थानीय साझेदार संस्थाका पहलमा जुम्लामा रेड पान्डा संरक्षणको पहल भइरहेको छ । 

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले गैरसरकारी निकाय हातेमालो नेपालले जिल्लामा गरिरहेको काममा सबैले सघाउनुपर्ने बताए । उनले लोपोन्मुख रेड पान्डाको संरक्षण मात्र नभई यस क्षेत्रमा काम गर्दा वनजङ्गल संरक्षणमा ध्यान दिन आवश्यक रहेको उल्लेख गरे । 

उनले रेड पान्डा संरक्षण अभियानका लागि सबै लाग्नुपर्ने र आगामी काममा समेत जिल्ला समन्वय समितिले समन्वय, सहकार्य गर्ने प्रतिबद्धतासमेत जनाए । यसै गरी जुम्लामा रेड पान्डाको वासस्थान पहिचानदेखि संरक्षण, स्थानीय समुदायको क्षमता अभिवृद्धिका लागि काम गरिरहेको गैरसकारी संस्था कर्णाली विकास हातेमालो सेवा समाज र रेड पान्डा नेटवर्क नेपालले काम गरिरहेको छ । संस्थाले चार वर्षदेखि जुम्लामा खोजी, अनुसन्धान तथा सम्भावित क्षेत्रमा संरक्षणका कार्यक्रम गर्दै आएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यको अध्यक्षतामा बसेको जिल्ला परियोजना सल्लाहकार समितिको बैठकमा जुम्लामा भइरहेको काम, संरक्षणको सवाल, समस्या र चुनौतीका विषयमा जानकारी दिएको छ । कर्णाली विकास हातेमालो सेवा समाज नेपाल जुम्लाका कार्यकारी निर्देशक टेकबहादुर रावतले जुम्लामा रेड पान्डा संरक्षण विषयमा तातोपानी गाउँपालिका–४ र ८, सिँजा गाउँपालिका–२ र पातारासी गाउँपालिका–२ मा काम भइरहेको जानकारी दिए ।

कर्णाली विकास हातेमालो सेवा समाज नेपाल जुम्लाका अनुसन्धान अधिकृत शर्मिला श्रेष्ठका अनुसार त्यस क्षेत्रमा अनुसन्धान, अनुगमन, शिक्षा तथा सचेतनामा पहुँच, आवास व्यवस्थापन, दिगो जीविकोपार्जन, क्षमता अभिवृद्धिका क्रियाकलाप भइरहेको छ । उनले यी वडाका पाँच वटा वनमा अनुगमन गर्दा ६६ स्थानमा रेड पान्डाको दिसापिसाब देखिएको बताइन् । 

माध्यमिक विद्यालय चुलेलगाउँमा विद्यार्थीलाई वातावरण संरक्षण विषयमा पढाइ, तीन वटा पालिकामा रेड पान्डा संरक्षण समिति गठन, सिद्धिविनायक वनमा रेड पान्डा खोजीका लागि नयाँ ब्लग स्थापना, तिला गाउँपालिका–९, महादेव ढुस्का सामुदायिक वनमा खोजी कार्य तथा नियमित अनुगमन गर्दै आएको छ ।

डिभिजन वन कार्यालय जुम्लाका वन अधिकृत प्रकाश देवकोटाले रेड पान्डा संरक्षण गर्ने स्थानमा बिरुवा रोप्ने काममा जिल्ला वन कार्यालयसँग समन्वय गरेमा आवश्यक सहयोग गर्ने बताए । उनले वनसम्पदा बचाउने कार्यक्रमसमेत भएकाले नाङ्गा डाँडाकाँडामा बिरुवा रोप्ने काममा प्राथमिकता दिनुपर्ने सुझाव दिए । 

जुम्लामा हिमपातका समयमा छिटपुट रेड पान्डा देखिने गरेको बताइन्छ । केही वर्षअगाडि सदरमुकाम खलङ्गासँगै जोडिएको चन्दननाथ–१, तलिचौरमा स्थानीय युवाले रेड पान्डा भेटाएका थिए । गएको माघ पहिलो हप्ता परेको भारी हिमपातका कारण बस्न र खान समस्या भएपछि रेड पान्डा गाउँ झरेको हुन सक्ने जिल्ला वन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया