दाङ : घोराही बजार क्षेत्रमा बृहद् सरसफाई अभियान सञ्चालन गरिएको छ । ‘सुरक्षित, सफा र सुन्दर दाङ, सभ्य नागरिकको पहिचान’ भन्ने नारासहित जिल्ला प्रशासन कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय दाङको आयोजनामा बुधबार बिहान सरसफाइ कार्यक्रम गरिएको हो ।
घोराही उपमहानगरपालिका, ज्वाला दल गण घोराही तथा सशस्त्र प्रहरी बल नेपाल कारागार सुरक्षा बेस घोराहीको समन्वयमा घोराही बजारका विभिन्न स्थानमा सरसफाइ गरिएको थियो ।
कार्यक्रमको सुरुवात गर्दै प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले नागरिकको स्वास्थ्यसँगै बजारको सुन्दरतालाई ध्यानमा राख्दै सरसफाइमा विशेष चासो दिन नगरवासीलाई आग्रह गरे । उनले प्रत्येक घरधनीले आफ्नै घरअगाडि सरसफाइ गर्नुपर्ने र सार्वजनिक स्थानको संरक्षणमा सबैले ध्यान दिनुपर्ने बताए ।
यसरी सबैले जिम्मेवारी लिएर काम गर्न सके बजारलाई सफा र सुन्दर राख्न सकिने तथा बाहिर पनि सकारात्मक सन्देश जाने उनको भनाइ थियो । स्थानीय तहको सक्रियताले नागरिकमा सरसफाइप्रति जागरुकता बढाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी अर्यालले घोराहीमा सरसफाइ अभियानलाई निरन्तरता दिन स्थानीय सरकारलाई आग्रह गरे ।
घोराहीको सहिदगेटबाट सुरु भएको सरसफाइ कार्यक्रम तुलसीपुर चोक, न्यू रोड, बैंक रोड र सहिद लखन थापा पार्कलगायतका क्षेत्रमा सञ्चालन गरिएको थियो ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सामुदायिक सेवा केन्द्र घोराही, दाङ जिल्ला उद्योग वाणिज्य संघ, लायन्स क्लब अफ घोराही सिटी, त्रिभुवननगर जेसीज, रोटरी क्लब अफ दाङ तथा द लोटस ट्रेनिङ सेन्टरको सहयोगमा सरसफाइ कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जनप्रतिनिधि, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, निर्वाचन प्रहरी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार