Listen LIVE

बर्दियामा बालिकामाथि आक्रमण गर्ने चितुवा नियन्त्रणमा

बर्दिया : बर्दियाको बालापुरमा बालिकामाथि आक्रमण गर्ने चितुवा नियन्त्रणमा आएको छ । जेठ १४ गते बुधबार बिहान सात वर्षीया बालिका सायरा थारूलाई आक्रमण गरी मार्ने चितुवा सोही स्थानमा पासोमा परेको हो ।  

डिभिजन वन कार्यालयका सूचना अधिकारी रामकुमार चौधरीले मङ्गलबार राति थापेको पासोमा चितुवा फसेको बताए । उनले पासोमा बाख्रा राखेर छोडिएको र बिहान हेर्दा चितुवा फसेको जानकारी दिए । नियन्त्रणमा आएको चितुवालाई  सुरक्षित स्थानमा पठाउने तयारी भइरहेको उनको भनाइ छ ।

चतुवाको आतङ्कका कारण त्रसित बनेका बालापुरवासी चितुवा नियन्त्रणमा आएपछि हर्षित भएका छन् । चितुवा नियन्त्रणमा आएपछि राहत महसुस भएको गुलरिया नगरपालिका वडा ५ बालापुरका मुल बडघर कालिप्रसाद थारुले बताए । जङ्गलमा अझैपनि चितुवा हुनसक्ने भएकोले सचेत रहनु पर्ने उनले बताए ।

चितुवा फसाउनका लागि एक हप्ता अगाडिदेखि दुई वटा पासो थापिएको थियो । बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका दुई वटा हात्ती परिचालन गरिएको छ । दुई जना पशु चिकित्सकसहित प्राविधिक टोली परिचालन गरेर चितुवाको खोजी गरिएको थियो । डिभिजन वन कार्यालय बर्दियाका अनुसार बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र डिभिजन वन कार्यालय बर्दियासहित ४५ जना जनशक्ति परिचालन गरेर चितुवा खोजी गरिएको थियो ।

पछिल्लो समय बर्दियाको सदरमुकाम गुलरियामा चितुवाको बिगबिगी बढ्दै गएको छ । गत वैशाख १५ गते गुलरिया नगरपालिका वडा ५ मा रहेको सर्यू सामुदायिक वनमा चितुवाले आक्रमण गर्दा नौ वर्षीया मेलिना खड्काको मृत्यु भएको थियो । वन कार्यालय बर्दियाको तथ्यांंकअनुसार गत मङ्सिर यता चितुवाको आक्रमणबाट चार जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

प्रतिक्रिया