बर्दिया : बर्दिया राष्ट्रिय निकुञ्जको पुरानो कार्यालयको स्टोरबाट गैंडाको खाग र बाघको दाहृा गायब भएको घटनाको तीन वर्षपछि फेरि अनुसन्धान सुरु भएको छ ।
०७९ असोज ७ गते कार्यालयको स्टोर कक्ष जाँच गर्ने क्रममा गैंडाको खाग र बाघको हड्डी गायब भएको पाइएको थियो । त्यतिबेला छानबिनका क्रममा अभियोगी नदेखिएपछि तीन वर्षपछि बिहीबारबाट पुनः अनुसन्धान गर्न थालिएको हो ।
जिल्ला सरकारी वकिल कार्यालयले आखेटापहार चोरीको फौजदारी मुद्दा भएकोले राष्ट्रिय निकुञ्ज ऐन २०२९ बमोजिम अनुसन्धान गर्न निर्देशन दिएको निकुञ्ज कार्यालयले जनाएको छ । त्यसबेला प्रहरीमा आखेटोपहार चोरी भएको मुचुल्का उठाइएको थिएन । जिन्सी शाखामा रहेको सामानको अभिलेख गर्ने क्रममा गैंडाको एउटा खाग र बाघको २५ वटा दाह्रा गायब भएको थियो ।
उक्त घटनापछि निकुञ्जले अनुसन्धान गरेको थियो । निकुञ्जले अभियोगी पक्राउ गर्न नसके पछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरेको थियो । लामो समयसम्म आखेटापहार चोरी मुद्दाका अभियोगी फेला नपरेपछि सरकारी वकील कार्यालयको राय लिएर पुनः अनुसन्धान सुरु गरिएको निकुञ्ज कार्यालयले जनाएको छ । स्टोरका तत्कालीन सिनियर गेम स्काउटबाट बयान लिन सुरु गरिएको निकुञ्जा वरिष्ठ संरक्षण अधिकृत सरोजमणि पौडेलले बताए ।
त्यतिबेला कार्यालयमा नायब सुब्बा नभएका कारण सिनियर गेम स्काउट सुभाष थारुको जिम्मा दिइएको थियो । नयाँ नासु सरुवा भइ आएपछि थारुले जिम्मेवारी हस्तान्तरण गर्दा त्यहाँ राखिएका वन्यजन्तुको अंग गायब भएको खुलासा भएको थियो । त्यसबेला छानबिनका क्रममा थारुलाई तीन महिना निलम्बन गरिए पनि ठोस नतिजा आएको थिएन ।
निकुञ्जको पुरानो कार्यालय खाली भएपछि आखेटापहार राख्ने एउटा कोठाबाहेक अन्यमा महिला गेम स्काउटको आवास रहेको छ । गायब भएको ठाउँनजिक नेपाली सेनाको गण, मुख्य प्रवेशद्वारमा निकुञ्जका कर्मचारीको चेकपोष्ट रहेको छ । महिला गेम स्काउट बस्ने भएकाले त्यहाँ सिसी क्यामेरा जडान गरिएको थिएन । वरिष्ठ संरक्षण अधिकृत पौडेल आखेटोपहार चोरी घटनामा शंका लागेका कर्मचारीलगायतसित बयान लिइने बताए । उनले भने, ‘मुद्दाको हद म्याद नभएकोले बयान कहिलेसम्म टुंगिन्छ भन्न सकिदैन ।’
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार