Listen LIVE

चिसोका कारण कोहलपुरका विद्यालयमा चार दिन विदा

नेपालगञ्ज : शीतलहर र चिसो अत्यधिक बढेपछि बाँकेको कोहलपुर नगरपालिकाले नगरभित्रका सबै विद्यालय चार दिन बन्द गर्ने निर्णय गरेको छ ।

केही दिनयता बढ्दै गएको अत्यधिक चिसोका कारण बालबालिकाहरु बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको नगरपालिकाले जनाएको छ ।

कोहलपुर नगरपालिकाका प्रवक्ता नमबहादुर आलेमगरका अनुसार शीतलहर तथा हुस्सुका कारण अत्यधिक चिसो बढेपछि पुस २६ गतेदेखि २९ गतेसम्म लागि पालिकाभित्रका सम्पूर्ण विद्यालय बन्द गरिएको छ । उनले चिसोले बालबालिकाहरु प्रभावित भएको अभिभावकले जानकारी गराएर बिदा दिनुपर्ने माग गरेकोले हालका लागि चार दिन सबै विद्यालय बन्द गरिएको जनाए । 

अत्यधिक चिसोका कारण पुस २५ गते बालबालिकाहरूलाई पर्याप्त गृहकार्य दिएर चिसोबाट सचेत रहन जानकारी गराई बिदा गरिएको कोहलपुर नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । सोही प्रकारले जिल्लाका अन्य पालिकाहरुमा पनि विद्यालय बन्द गर्नुपर्ने माग अभिभावकले गरेका छन् । 

केही दिनयता चिसो अत्यधिक बढेकोले बालबालिकालाई विद्यालय पठाउन समस्या भएको जनाउँदै विद्यालय केही दिन बन्द गर्नु पर्ने माग अभिभावकको छ । बढ्दो चिसोको जोखिमलाई मध्यनजर गर्दै तल्लो तहमा अध्ययनरत साना बालबालिकाहरुको स्वास्थ्यलाई ध्यानमा राखी बाल विकास र कक्षा १ देखि ५ सम्मको कक्षा सञ्चालन बन्द गर्नुपर्ने अधिकांश अभिभावकको माग रहेको शिक्षा बिभिन्न पालिकाका शिक्षा शाखाले जनाएका छन् । 

प्रतिक्रिया