नेपालगञ्ज : बाँके प्रहरीले मोटरसाइकल र ईरिक्सा चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रवक्ता एवं डीएसपी दिपक पातलीका अनुसार, मोटरसाइकल चोरेको आरोपमा सुर्खेतका २१ वर्षीय पवन पाण्डे, नेपालगन्जका २० वर्षीय अमिर ढापाली र ईरिक्सा चोरेको आरोपमा जानकी गाउँपालिकाका २१ वर्षीय ओमप्रकाश जरवटलाई पक्राउ गरिएको छ ।
तीनै जनालाई प्रहरीले छुट्टाछुट्टै घटनामा फरक–फरक ठाउँबाट पक्राउ गरेको हो । सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ का पाण्डेले नेपालगञ्जको बसपार्क नजिकबाट प्र ०२००१ प ६९०० नम्बरको रोयल इनफिल्ड मोटरसाइकल चोरेका थिए ।
उक्त मोटरसाइकल कोहलपुरको किरणनाला नजिक बेवारिसे अवस्थामा फेला परेको थियो । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १६ का ढापालीले नेपालगञ्जको गणेशमान चोक नजिकबाट भे १२ प ३०६९ नम्बरको मोटरसाइकल चोरेका थिए ।
उक्त मोटरसाइकल नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १६, मन्नापुरुवामा फेला परेको थियो । जानकी गाउँपालिका वडा नं. ९ बस्ने जरवटले नेपालगञ्जको ढोडेगाउँबाट भे १ ह ३०७० नम्बरको ईरिक्सा चोरेका थिए । तीनै जनालाई कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले बताएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार