Listen LIVE

बढैयाताललाई पनि वालविवाहमुक्त बनाउने अभियान तिव्र

नेपालगञ्ज : बर्दियामा सञ्चालन गरिएको बालविवाह विरुद्धको अभियान अन्तर्गत बढैयाताल गाउँपालिकाको वडा नम्बर ८ लाई औपचारिक रुपमा बालविवाहमुक्त वडा घोषणा गरिएको छ । 

प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब र बी ग्रुपको अथक प्रयास र संयुक्त सहकार्यबाट यो उपलब्धि सम्भव भएको वडा नम्बर ८ का अध्यक्ष तेजनाथ पौडेलले बताए । 

वडा नं ८ का वडा अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न भएको वालविाहमुक्त वडा घोषणा कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुमेश्वर ढकालले बर्दियालाई वालविवाहमुक्त जिल्ला बनाउन सबैले लाग्नु पर्ने बताए । 

उनले सो कार्यमा संलग्न सबै सरोकारवालालाई उक्त अवसरमा धन्यवाद पनि दिए । 

सो अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्रीका मुख्य सल्लाहकार लक्ष्मण ज्ञवाली, बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठी र गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीकुमारी अधिकारीलगायतले पनि बढैयाताल गाउँपालिकालाई वालविवाहमुक्त घोषणा गर्ने अभियानमा तिव्रता ल्याईएको बताए । 

कार्यक्रममा स्थानीय अगुवा, राजनीतिक दलका प्रतिनिधि, धार्मिक तथा सामाजिक अगुवा, पत्रकार, समाजसेवी लगायतको सहभागिता रहेको थियो । 

करिब १५ सय बढी सर्वसाधारण सहभागि सो कार्यक्रमको विशेष आकर्षण नेपाल आइडलका बिजेता करण परियारको लाइभ प्रस्तुति रहेको थियो जसमा उनका सुमधुर गीतहरुले दर्शकहरुलाई रोमाञ्चित बनाएको थियो । सहभागिहरुले अन्य विभिन्न सांस्कृतिक कार्यक्रमको पनि आनन्द लिएका थिए ।   

बाँके युनेस्को क्लबका कार्यवाहक कार्यकारी निर्देशक महेश नेपाली र प्लान इन्टरनेशनल नेपालका कार्यक्रम प्रबन्धक अम्बिका प्रसाद तिमिल्सेनाले वालविवाहमुक्र घोषणाका लागि गरिएको सामूहिक प्रयासका बारेमा बिस्तृतरुपमा जानकारी गराए । 

बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक गोविन्द प्रसाद लामिछाने, कार्यक्रम अधिकृत ईश्वर विक, सामाजिक परिचालन अफिसर लक्ष्मी थारु र फिल्ड सुपरवाइजर रामबहादुर चौधरीको पनि सो अवसरमा उपस्थिति रहेको थियो । 

कार्यक्रमको सञ्चालन हिक्मत सुनारले गरेका थिए । सो ऐतिहासिक घोषणाले बढैयाताल गाउँपालिकाका बालबालिकाको उज्ज्वल र सुरक्षित भविष्यप्रतिको सामूहिक दृष्टिकोण र प्रतिबद्धता प्रष्ट गरेको छ ।

प्रतिक्रिया