Listen LIVE

बैजनाथका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

नेपालगञ्ज : जाडो बढेपछि बाँकेको बैजनाथ गाउँपालिकाले ७०० जना जेष्ठ नागरिकहरुलाई न्यानो कपडा र फाइबर सिरक वितरण गरेको छ। “जेष्ठ नागरिक प्रेरणाका श्रोत हुन” भन्ने भनाइका साथ, बैजनाथ गाउँपालिकाले ६९ र ७० वर्ष उमेर समूहका जेष्ठ नागरिकहरुलाई न्यानो कपडा र फाइबर सिरक वितरण गरेको जनाएको छ।

बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाहीले न्यानो कपडा र सिरक वितरण गर्दै भने, “जेष्ठ नागरिक हाम्रा अभिभावक हुन्। भगवान खोज्न कतै जानुपर्दैन, जेष्ठ नागरिक र घरका आमा–बुवालाई सेवा गर्दा सबैभन्दा ठूलो पुन्य हुन्छ।” उनले थपे, “अभिभावकको स्वास्थ्यको निगरानी गर्नु हाम्रो दायित्व हो। चिसोका कारण कुनै जेष्ठ नागरिकले ज्यान गुमाउनु नपरोस भनेर न्यानो कपडा वितरण गरिएको हो।”

न्यानो कपडा वितरण कार्यक्रम बैजनाथ १ चिसापानी, २ डिगिया, ३ वैरहवा, ४ बानियाभार, ५ बनकटुवा, ७ पेडारी र वडा नं ८ कार्यालयमा आयोजित गरिएको थियो। कार्यक्रममा बैजनाथ गाउँपालिकाका अध्यक्ष शाही, उपाध्यक्ष निर्मला रोकाय, सामाजिक विकास समिति संयोजक भुमिसरा राना, महिला, बालबालिका र जेष्ठ नागरिक शाखा प्रमुख लक्ष्मी ज्ञवाली ढकाल लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो।

बैजनाथ गाउँपालिकाले जेष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा र निःशुल्क स्वास्थ्य बिमा पनि प्रदान गर्दै आएको उपाध्यक्ष निर्मला रोकायले जानकारी दिइन्।

प्रतिक्रिया