Listen LIVE

दसैँको समयमा जमुनाहा नाकाबाट ४५ जनाको उद्धार

नेपालगञ्ज : बाँकेको नेपालगन्जस्थित नेपाल र भारत सिमानाका जमुनाहबाट दसैँको समयमा जोखिमपूर्ण यात्रामा रहेका ४५ जना नेपाली नागरिकको उद्धार गरिएको छ ।

माइती नेपाल नेपालगञ्ज कार्यालयका संयोजक केशव कोइरालाले जोखिमपूर्ण यात्रा गर्दै भारततर्फ जाँदै गरेको अवस्थामा तीन जना बालक, १७ जना १८ वर्ष मुनिका बालिका र २५ जना १८ वर्ष माथिका महिला गरी असोज महिनामा ४५ जना नेपाली नागरिकको जमुनाहाबाट उद्धार गरिएको बताए ।

“असोज महिनामा हामीले जमुनाह नाकाबाट तीन जना बालक १७ जना १८ वर्ष मुनिका बालिका र २५ जना १८ वर्षमाथिका महिलालाई उद्धार गरेका छौं, उहाँहरु जोखिमपूर्ण यात्रा गर्दै भारततर्फ जाँदै हुनुहुन्थ्यो” संयोजक कोइरालाले भने, “उद्धार गरेका सबैलाई हाम्रो सेल्टरमा राख्यौं, काउन्सिलिङ गरेका छौं र उहाँहरुका अभिभावकलाई बोलाएर अभिभावकलाई समेत काउन्सिलिङ गरी जिम्मा लगाएर पारिवारिक मिलान गराइदियौं ।”

असोज महिनामा खोजतलास तथा उद्धार गर्न कार्यालयमा ४९ वटा निवेदन प्राप्त भएको संयोजक कोइरालाले जानकारी दिए । उनका अनुसार खोजतलास तथा उद्धारका लागि १२ जना बालिका, पाँच जना बालक र ३२ जना १८ वर्षमाथिका महिला गरी ४९ जनाको निवेदन प्राप्त भएको छ ।

४९ जनामध्ये आठ जनालाई फेला पारेर सम्बन्धित अभिभावकलाई बुझाइएको संयोजक कोइरालाले बताए । “असोज महिनामा खोजतलास तथा उद्धारका लागि ४९ वटा निवेदन प्राप्त भएको थियो, जसमध्ये पाँच जना बालिका, एक जना बालक र दुई जना महिलालाई उद्धार गरेर सम्बन्धित अभिभावकलाई जिम्मा लगाएका छौं” कोइरालाले भने ।

दसैँको घटस्थापनादेखि असोज ३० गतेसम्म मात्र जमुनाह नाकाबाट १० जनाको उद्धार गरेको उनले जानकारी दिए । “दसैँको घटस्थापनादेखि असोज ३० गते सम्ममा मात्र नाकाबाट ६ जना १८ वर्षमुनिका बालिका र चार जना १८ वर्षमाथिका महिला गरी १० जनाको उद्धार गरेका छौं” कोइरालाले भने ।

सोही समय अवधिमा १८ वर्ष मुनिका बालिका ६ जना, बालक एक जना र १८ वर्षमाथिका महिला १० जना गरी १७ जना नागरिकको खोजतालस तथा उद्धार गरिदिन भनि निवेदन प्राप्त भएको संयोजक कोइरालाले जानकारी दिए ।

नेपालगञ्जको जमुनाहा नाका भएर बाँके, दाङ, सुर्खेत, दैलेख, जाजरकोट, प्युठानलगायतका जिल्लाबाट जोखिमपूर्ण यात्रामा नेपाली नागरिकहरु भारततर्फ जाने गरेको तथ्याङ्क रहेको माइती नेपाल नेपालगञ्ज कार्यालयले जनाएको छ । 

प्रतिक्रिया