Listen LIVE

नेपालगञ्ज नाकाबाट हराएका अझै ३७० जना सम्पर्कविहीन

नेपालगञ्ज : नेपालगञ्ज नाकाबाट एक वर्षमा ७ सय ७७ जना महिला तथा बालिका हराएका छन्। त्यसमा ४ सय ७ जना फेला परेका छन्।

माइती नेपाल, नेपालगञ्जमा ७ सय ७७ जनाको खोजतलासको निवेदन परेको हो। काम र दामका लागि भारत तथा भारत हुँदै तेस्रो मुलुकमा पुगेका महिला सम्पर्कबिहीन भएको बताइएको छ। कहाँ, के कामका लागि, कति घण्टा काम गर्नुपर्ने, पैसा कति पाइन्छ भन्ने जानकारी बिना नै जोखिमपूर्ण यात्रामा हिँडेकाहरु सम्पर्कबिहीन हुने गरेका छन्। कतिपय घरपरिवारको सल्लाह अनुसार गएपनि नराम्रो काममा परेर सम्पर्कबिहीन भएपछि खोजतलासका लागि गुहार माग्ने गरेको पाइएको छ।

खोजतलासको निवेदन यो वर्ष अझ बढेको छ। गतवर्ष ६ सय ६२ जनाको खोजतलासको निवेदन परेकोमा २ सय ७८ जना फेला परेका थिए। माइती नेपाल, नेपालगन्जका संयोजक केशव कोइरालाले सामाजिक सञ्जालको प्रयोगबाट चिनजान भएर जोखिमपूर्ण यात्रामा निस्किने संख्या बढेको बताए। नेपालगञ्ज नाकाबाट एकजनालाई बंगलादेश जाने क्रममा रोकिएको छ।

सामाजिक सञ्जालबाट बंगलादेशी नागरिकसँग माया प्रेम बसेपछि महिला बंगलादेश जाने भन्दै निस्केकी थिइन्। बेचबिखनको जोखिममा रहेको भन्दै माइती नेपालले उनलाई नाकाबाट फिर्ता गराएको थियो। संयोजक कोइरालाले यो वर्ष पनि खोजतलासको निवेदन धेरै पर्नेमा बाँके अगाडि रहेको बताए। त्यसपछि सुर्खेत, बर्दिया, दाङ, जाजरकोट, दैलेख जिल्लाका रहेका छन्।

माइती नेपाल, नेपालगञ्जले सन् २०२४ मा जोखिमपूर्ण यात्रामा रहेका ५ सय ९८ जनालाई नेपालगञ्ज नाकाबाट उद्धार गरेको छ।

प्रतिक्रिया