खजुरा (बाँके) : बाँकेको खजुरामा रहेको सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लले अस्पतालको मातृसंस्था प्रखर परोपकार मिसन नेपालबाट प्रतिनिधित्व गर्ने विकास समितिका सदस्यहरुले काम गर्न अवरोध गरेको आरोप लगाएका छन् । आफ्नो कार्यकालको प्रगति विवरण सुनाउन आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मिसन नेपालबाट विकास समितिमा प्रतिनिधित्व गर्ने सदस्यहरुले असहयोग गरेको गुनासो गरे ।
समिति भित्रैका सदस्यहरुको असहयोगका बीच आफ्नो कार्यकालमा अस्पतालले ठुलो प्रगति गरेको उनले बताए । स्वास्थ्य मन्त्रालयबाट नियुक्त २ जना सदस्यहरुको उपस्थितीमा अस्पताल हाताभित्र आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष मल्लले समितिका सदस्यहरुले बैठक बस्न नदिने र बसेको बैठकमा समेत माइनुट पुस्तिकामा हस्ताक्षर नगरिदिने गरेको बताए । ३ वर्षको कार्यकालमा १५ वटा मात्र बैठक बस्न सकेको उल्लेख गर्दै राजनीतिक नियुक्तिबाट पाउने पीडा आफुले अनुभूत गरेको बताए ।
उनले आफ्नो कार्यकालमा क्यान्सरको उपचारका क्रममा नेपाल सरकार, लुम्बिनी पदेश सरकार र स्वास्थ्य विमाबाट प्राप्त हुने सुविधा सकिएका ७० वर्ष उमेर नाघेका ज्येष्ठ नागरिक विरामीहरुलाई अस्पतालबाट प्रदान हुने सेवा शुल्कको ५० प्रतिशत अस्पताल विकास समितीले व्यहोर्ने गरी छुट गरिएको, आईसियू सेवा विस्तार सम्भवतः पश्चिम नेपालकै पहिलो पोजेटिन प्रेसर आईसियू निर्माण भई सन्चालनमा ल्याइएको, पश्चिम नेपालकै पहिलो लिन्याक मेसिन जडान गरी रेडियो विकिरण सेवा सञ्चालनमा ल्याइएको उल्लेख गरे ।
आफ्नो कार्यकालमा क्यान्सरको उपचारका लागि आउने बिरामीको संख्यामा उल्लेख्य वृद्धी भएको उनले दाबी गरे । अध्यक्ष मल्लले आव ०७९ देखि २०८२ साउन सम्म १ लाख ४३ हजार ३३४ विरामीले अस्पतालको सेवा लिएको र सो मध्य ५२ हजार ७९३ जनामा क्यान्सर रोग पुष्टि भएको जानकारी दिए ।
उनले रक्त क्यान्सरको विरामीका लागि बेग्लै केमोटो अङ्कोलोजी वार्ड निर्माण गरी सञ्चालनमा ल्याई सेवा शुरु गरिएको, ५५ वेडबाट सेवा प्रवाह भइरहेकोमा ९५ वेड विस्तार गरिएको, स्थानीय खजुरा गाँउपालिकाको सहयोगमा अस्पताल परिषरमा ब्लड बैंक स्थापना गरिएको पनि जानकारी दिए ।
हाल अस्पतालमा चौबिसै घण्टा ल्याव तथा एक्सरे सेवा सञ्चालनमा रहेको जनाउँदै उनले फोक्सो, कलेजी, मृगौला, ब्लड क्यान्सर लगायतका क्यान्सरका औषधीहरु निःशुल्क उपलब्ध गराउँदै आएको बताए ।
स्तन क्यान्सर भएका विरामीको शल्यक्रिया विकल्प पुनः निर्माण शल्यक्रिया सेवा सुचारु गरिएको छ भने अस्पतालले आधुनिक उपकरण सहितका शल्यक्रिया, किमोथेरापी, बाकिचेराची, ऋत् क्अबल, म्यामोग्राफी, मिडियो एक्सरे र रेडियो बेरापी सेवा प्रवाह गर्दै आएको छ ।
अस्पतालले गरिब, असहाय तथा विपन्न विरामीहरुका लागि १०% जनरल बेड निःशुल्क गरेको छ । साथै यस अस्पतालमा कार्यरत कर्मचारीका लागि इएइ सेवा निःशुल्क तथा उपचार सेवामा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
अध्यक्ष मल्लले अस्पताललाई राज्यलाई उपेक्षा नगरी यस अस्पतालको स्तर उन्नतीका लागि राज्य जिम्मेवार हुनु पर्ने बताए । उनले अस्पताललाई आवश्यक जनशक्ति सरकारले दिन नसकेको उल्लेख गर्दै ओएनएम सर्वेले सिफारिस गरेको जनशक्ति मन्त्रालयसँग ब्यवस्थापन गर्न माग गरे ।
अस्पतालमा हाल २१ जना विशेषज्ञ चिकित्सक, ११ जना मेडिकल अफिसरसहित १६१ जना अस्थायी, करार र दैनिक ज्यालादारी कर्मचारी रहेका छन् ।
उनले राजनीतिक दलद्वारा असहयोग र प्रखर परोपकार मिसन नेपालवाट सिफारिस भएका सदस्यहरुबाट प्रतिशोध षडयन्त्र असहयोगका बाबजुद पनि आफ्नो टिम विचलित नभइ डटेर सामना गरेको बताए । आफ्नो टिमलाई नयाँ नियुक्त भएर आएको कार्यकारी निर्देशकबाट पनि असहयोग भएको उनले गुनासो गरे ।
पत्रकारहरुले सोधेको प्रश्नमा अध्यक्ष मल्लले कोभिड काल र त्यस अघिबाटै रहँदै आएको म्याद नाघेका औषधीहरु अस्पतालमा रहेको स्वीकार गरे । उनले औषधीको म्याद गुज्रेको सम्बन्धमा आफुले सम्बन्धित निकायलाई सोधेको तर जवाफ नआएको बताए । समितिको बैठकनै सुचारु गर्ने वातावरण नहुँदा कारवाही गर्न नसकिएको उनको भनाई छ ।
पत्रकार सम्मेलनमा मिसन नेपालका प्रतिनिधिहरु अनुपस्थित रहेका थिए भने अस्पतालका कार्यकारी निर्देशक डा. ज्वलन्त पौडेल पनि देखिएनन् । कार्यक्रममा विकास समिति सदस्य दीपा केसी र इमरान खानको उपस्थिती रहेको थियो ।
स्थानीयबासीले महायज्ञ सञ्चालन गरि धार्मिक वातावरणसहितको अस्पताल सञ्चालन गर्ने गरि २०७२ सालमा नवनिर्मित अस्पतालको भवनसहितको सम्पूर्ण चलअचल सम्पत्ति नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । सन्त दीनयाल महाराजको संकल्पमा निर्माण भएको अस्पताललाई धार्मिक वातावरणमा सञ्चालन गर्ने परिकल्पना गरिएपनि सरकारमा हस्तान्तरण गरेसँगै परिकल्पना अनुसार अस्पताल सञ्चालन हुन सकेको छैन ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार