Listen LIVE

गुलरियाका १२ वडामध्ये ११ वटा वडा बालविवाहमुक्त घोषित

नेपालगञ्ज : बर्दियाको गुलरिया नगरपालिकाका वडाहरुलाई बालविवाहमुक्त वडा घोषणा गर्ने अभियान अन्तिम चरणमा पुगेको छ । 

नगरपालिकाका वडाहरुलाई विभिन्न प्रक्रिया पुरा गरेर बालविवाहमुक्त वडा घोषणा गर्ने कार्यक्रमअन्तर्गत वडा नम्बर ९ र १० लाई पनि बालविवाहमुक्त वडा घोषित गरिएको हो । 

प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब र बी ग्रुपको सहकार्यमा आयोजित एक भव्य समारोहमा गुलरिया नगरपालिकाको वडा नम्बर ९ र १० लाई पनि औपचारिक रुपमा बालविवाहमुक्त वडा घोषणा गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताए । 

उनले गुलरिया नगरपालिकालाई बालविवाहमुक्त पालिका बनाउने अभियान अन्तर्गत हालसम्म नगरपालिकाका १२ मध्ये ११ वटा वडालाई बालविवाहमुक्त घोषित गरिसकिएको बताए । 

अब वडा नम्बर २ मात्र घोषित हुन बाँकी रहेको जनाउँदै प्रमुख संरक्षक सिद्दिकीले सो वडा पनि डिसेम्बर महिना भित्र घोषित गर्ने तयारीका साथ काम भइरहेको बताए ।  

वडा नम्बर ९ का वडा अध्यक्ष हरिप्रसाद पासवानको अध्यक्षतामा भएको कार्यक्रममा गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले नगरपालिकाका ११ वटा वडालाई बालविवाहमुक्त घोषणा गर्न सकिएकोमा खुशी व्यक्त गरे । 

उनले सो कार्यमा सहयोग गर्ने प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब र बी ग्रुपप्रति आभार व्यक्त गरे । 

वडा नम्बर ९ र १० लाई घोषित गर्ने कार्यक्रममा गुलरियाका उपमेयर सावित्रा गौतम, प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह, वरिष्ठ अधिकृत मुकुन्द अर्याल र गुलरिया नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख शीला शाहको उपस्थिति रहेको थियो । 

कार्यक्रममा वडा अध्यक्ष, राजनीतिक तथा धार्मिक अगुवा, पत्रकार, सामाजिक संघसंस्थाका प्रतिनिधि, प्रहरी कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्ने विभिन्न वक्ताहरुले गुलरिया नगरपालिकालाई छिटै बालविवाह  मुक्त पालिका घोषित गर्ने लक्ष्यका साथ वडा नगरपालिकाभर बालविवाह उन्मूलनका लागि काम गरिएको बताएका थिए । 

गुलरिया नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख शीला शाहले बालविवाह न्यूनीकरणका लागि सरकार र संस्थागत प्रयासहरू बारे प्रकाश पार्दै विस्तृत प्रतिवेदन प्रस्तुत गरिन् भने बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक गोविन्दप्रसाद लामिछानेले बर्दिया जिल्लामा बालअधिकारको विकासमा सरोकारवालाहरूको अमूल्य योगदानको चर्चा गरे । 

सो समारोहमा सहभागि ६०० बढीलाई आकर्षित गर्दै जीवन्त सांस्कृतिक प्रदर्शनहरू पनि प्रस्तुत गरिएको थियो । कार्यक्रमको संचालन बाँके युनेस्को क्लबका कार्यक्रम अधिकृत ईश्वर विकले गर्नु भएको थियो भने सामाजिक परिचालन अधिकृत धिरजकुमार चौधरीले सक्रिय सहयोग गरेका थिए ।

प्रतिक्रिया