Listen LIVE

बाँकेमा ट्राफिक प्रहरीद्वारा विशेष अभियान सञ्चालन

नेपालगञ्ज : जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले दुर्घटना न्यूनीकरण तथा सवारी साधन सञ्चालनलाई सुरक्षित र सहज बनाउन जिल्लामा विशेष साप्ताहिक अभियान सञ्चालन गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख, प्रहरी निरीक्षक कनकबहादुर शाहीले दुर्घटना न्यूनीकरणसँगै ट्राफिक सचेतना बढाउने उद्देश्यले जिल्लामा “सार्वजनिक तथा निजी सवारी साधनहरुमा अस्पष्ट नम्बर प्लेटलाई पुनःलेखन गर्न विशेष साप्ताहिक अभियान” सञ्चालन गरिएको बताए ।

उनले जिल्लामा धेरै सवारी साधनको नम्बर प्लेट प्रष्ट नदेखिने, अक्षर मेटिएको, काटिएको तथा नम्बर नै हराएको अवस्थामा रहेको पाइएपछि अस्पष्ट नम्बर प्लेटलाई पुनःलेखन गर्न विशेष साप्ताहिक अभियान नै सञ्चालन गरिएको बताए ।

सो अभियानअन्तर्गत हालसम्म १०५ वटा विभिन्न प्रकारका सवारी साधनलाई रोकेर कारबाहीस्वरुप ती साधनको नम्बर पुनःलेखन गर्न लगाइ चेतावनी दिएर सम्झाई बुझाइ गरी पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

सो अभियान सञ्चालन गरिएपछि धेरैले आफै नम्बर प्लेट दुरुस्त गराएको पाइएको समेत जनाउँदै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख शाहीले कारबाही र जरिवानाको डरले पनि धेरैले नम्बर प्लेट दुरुस्त गराएको पाइएको बताए ।

यसअघि केही दिन पहिले आफुखुशी स्वरूप परिवर्तन ‘मोडिफाइड’ गरेर सवारी साधन चलाउने, गाडीमा अतिरिक्त सिट बनाएर मानिस झुन्ड्याउने तथा ओभरलोड गाडी चलाउनेहरुलाई पनि जिल्ला ट्राफिक प्रहरी कार्यालयले कारबाही गरेको थियो ।

सो कारबाहीपछि धेरैले इभि–भ्यान र म्याजिक भ्यानहरुमा आफुखुसी मानिस झुन्ड्याउनका लागि बनाइएका फलामको डण्डी र सिटको स्वरुपलाई हटाएका थिए । सोही प्रकारले मोटरसाइकललाई मोडिफाइड गरेर चर्को ध्वनि निकाल्ने मोटरसाइकल चालकहरुलाई पनि कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

यसका साथै अत्याधिक भवरलोड बोकि भारतबाट आइरहेका विभिन्न ट्रक र ट्याङ्करहरुलाई पनि नियन्त्रणमा लिइ भवर लोडलाई पल्टी गराइ कारबाही समेत गरी सुरक्षित गन्तव्यमा पठाउने कार्य पनि जारी रहेको जनाइएको छ ।

बाँकेका विभिन्न स्थानमा दैनिकजसो ट्राफिक सचेतना कार्यक्रम गरेर चालकहरुलाई ट्राफिक नियमका बारेमा जानकारी गराउने कार्य पनि निरन्तर चलिरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया