नेपालगञ्ज : बर्दिया जिल्लाको मधुवन नगरपालिकामा “एक घर, एक पढाइ कुना” अभियानलाई अभिभावकहरूले सक्रिय सहयोग गरेर आफ्ना बालबालिकाको शिक्षामा बिशेष ध्यान दिएको पाइएको छ ।
नगरपालिकामा पढाइ कुनाको बारेमा अनुगमन टोलीले गरेको अनुगमनका क्रममा आफ्ना बालबालिकाका लागि पढ्ने बानी विकास गर्न, नियमित गृहकार्य गराउन र विद्यालय जान उत्प्रेरित गर्ने कार्यमा अभिभावक आफै सक्रिय रहेको पाईएको शिक्षा समन्वय इकाइ बर्दियाले जनाएको छ ।
शिक्षा समन्वय इकाइ बर्दियाका प्रमुख सूर्य बहादुर बिष्टको संयोजकत्वमा रहेको अनुगमन टोलीले मधुवन नगरपालिकाको वडा नम्बर १ र २ मा पुगेर बालबालिकाको अध्ययनकालागि अनुकूल वातावरण सृजना गर्न बनाइएका पढाइ कुनाहरूको स्थलगत निरिक्षण अवलोकन गरेको थियो ।
अनुगमन गर्दा अभिभावकहरुले आफ्ना बालबालिकाको शिक्षाका लागि “एक घर, एक पढाइ कुना” अभियानलाई तिव्रता दिएर काम गरिरहेको पाईएको शिक्षा समन्वय इकाइ बर्दियाका प्रमुख बिष्टले बताए ।
उनले गरपालिकामा बालबालिकाको चाहना अनुसार थप शैक्षिक सामग्रीहरू उपलब्ध गराइने र अध्ययनप्रतिको चासो अझ बढाइने बताए ।
अनुगमनका क्रममा मधुवन नगरपालिकाका शिक्षा प्रमुख नारायण प्रसाद खनालले आगामी वर्ष “अभिभावक शिक्षा कार्यक्रम” लाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे । साथै, शिक्षा समितिका संयोजक मीन थापाले बालबालिकाको शैक्षिक गुणस्तर सुधारकालागि अभिभावक शिक्षा, “एक घर, एक पढाइ कुना” जस्ता कार्यक्रमहरूलाई थप बजेट विनियोजन गरी निरन्तरता दिने जानकारी दिए ।
स्थानीय अभिभावक गीता थारुका अनुसार, बालबालिकाको अध्ययनकालागि अभिभावकहरूले घरमै पढाइ कुनाको व्यवस्था गर्न थालेकोले शिक्षामा बालबालिकाको रुचि बढ्दै गएको पाईएको छ ।
बाँके युनेस्को क्लबका उपकार्यकारी निर्देशक गोविन्द प्रसाद लामिछानेका अनुसार, अभिभावक शिक्षा सत्र पश्चात् सञ्चालित सन्देशमूलक विभिन्न कार्यक्रमहरूले अभिभावकहरूमा चेतना जागृत गराएको छ । सोही कारणले उनीहरू अहिले आफ्ना बालबालिकाकालागि पढ्ने बानी विकास गर्न, नियमित गृहकार्य गराउन र विद्यालय जान उत्प्रेरित गर्ने कार्यमा सक्रिय भएर आफै एक घर एक पढाई कुना निर्माणमा जुटेका छन् ।
अनुगमन टोलीमा मधुवन नगरपालिकाका नगर उपप्रमुख अनिता चौधरी, शिक्षा शाखा प्रमुख नारायण प्रसाद खनाल, शिक्षा समितिका संयोजक मीन थापा, शिक्षा समन्वय समितिका प्रेम बहादुर खत्री तथा बाँके युनेस्को क्लबका उपकार्यकारी निर्देशक गोविन्द प्रसाद लामिछानेको सहभागिता रहेको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार