नेपालगञ्ज : बर्दियाको बढैयाताल गाउँपालिकामा विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला तथा गणितसंग सम्बन्धि सृजनात्मक सामग्री प्रदर्शनी सम्पन्न भएको छ ।
बांके युनेस्को क्लबले प्लान नेपालसँगक्षो साझेदारी तथा बढैयाताल गाउँपालिकाको शिक्षा शाखाको समन्वय र सहकार्यमा सो प्रदर्शनी सम्पन्न गरेको हो ।
कार्यक्रमको उद्देश्य विद्यार्थीहरूमा प्रयोगात्मक शिक्षा, सिर्जनशीलता र नवप्रवर्तनको प्रवद्र्धन गर्नु रहेको बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरले बताए ।
कार्यक्रममा १५ वटा सामुदायिक विद्यालयहरू सहभागी भएका थिए । प्रदर्शनीमा विद्यार्थीहरूले तयार पारेका नविनतम सामग्रीहरू प्रदर्शन गरिएका थिए ।
बढैयातालका शिक्षा शाखा प्रमुख विश्वप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी अधिकारी प्रमुख अतिथि रहेकी थिइन् ।
कार्यक्रममा सामाजिक विकास समितिका संयोजक तुलाराम चौधरी, विद्यालयका प्रधानाध्यापक, शिक्षकहरू, विद्यालय व्यवस्थापन समिति र अभिभावक शिक्षक संघका अध्यक्षहरू, अभिभावकहरू तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
सो प्रदर्शनीमा प्रस्तुत सामग्रीहरूको मूल्यांकन यमनाथ पौडेल, सुनील कुमार यादव र आशिष चौधरीले गरेका थिए । मूल्यांकनका आधारमा प्रथम स्थान जय कालिका माध्यमिक विद्यालयले प्राप्त गरेको थियो भने दोस्रो स्थान भगवती माध्यमिक विद्यालय र तेस्रो स्थान अमेर ज्योति माध्यमिक विद्यालयले प्राप्त गरेको थियो ।
चौथो स्थानमा भवानी माध्यमिक विद्यालय रहेको थियो ।
प्रदर्शनीमा सहभागी सबै विद्यालयहरूलाई शैक्षिक सामग्रीहरू र प्रमाणपत्र प्रदान गरिएको थियो भने विजेता विद्यालयहरूलाई विशेष सामग्रीहरू र प्रमाणपत्र वितरण गरिएको थियो ।
गाउँपालिकाका उपाध्यक्ष र वडा अध्यक्षहरुले आगामी वर्ष पनि पालिकाको पहलमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
उनीहरूले कार्यक्रमको कार्यान्वयन र निरन्तरताका लागि आउदो आर्थिक वर्षमा बजेट समेत विनियोजन गर्ने प्रतिवद्धता सो अवसरमा गरे ।
कार्यक्रमका क्रममा एजीसी अध्यक्ष स्वातिका खड्काले “युवा भेटघाट घोषणापत्र“ पालिकाका उपाध्यक्षलाई बुझाएकी थिइन् । बाँके युनेस्को क्लबका उपनिर्देशक गोविन्द प्रसाद लामिछानेले स्वागत मन्तव्य राख्नुका साथै कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए ।
त्यस्तै, शारदा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द त्रिपाठीले कार्यक्रमको प्रशंसा गर्दै यस्ता कार्यक्रमको निरन्तरतरका लागि शिक्षा शाखासँग समन्वय र सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार