नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित व्यवस्थित वन (चक्ला) व्यवस्थापन योजना प्रभावकारी देखिएको छ । जहाँबाट सरकारले वार्षिक १० करोड राजश्व संकलन गर्ने गरेको छ । यो नेपालकै सबैभन्दा ठूलो चक्ला वन क्षेत्र हो ।
आर्थिक बर्ष २०७३–७४ देखि राप्तीसोनारी गाउँपालिकास्थित शमशेरगञ्ज–माथेवासमा सरकारले चक्ला वन व्यवस्थापन योजना सुरु गरिएको थियो । यो योजना २०८२–८३ सम्म सञ्चालन हुनेछ । २५७८ हेक्टर क्षेत्रफलमा फैलिएको चक्ला वनमा उत्पादनशील क्षेत्र २२७८ हेक्टर रहेको डिभिजन वन कार्यालय बाँकेका प्रमुख सिनियर डिभिजन वन अधिकृत शङ्कर प्रसाद गुप्ताले बताउँछन् ।
उनले भने–‘यो वन क्षेत्रबाट वार्षिक १० करोड राजश्व सङ्कलन हुन्छ ।’ चक्ला वन कार्ययोजना कार्यान्वयनका लागि वार्षिक ३ करोड बजेट आवश्यक भए पनि सरकारले ६० लाख मात्र विनियोजन गर्दा थिनिंग, पुनरुत्पादन तयारी कटान, सुधार कटान, फायर लाइन निर्माण, वाच टावर निर्माण लगायतका अति आवश्यक क्रियाकलापहरू सञ्चालन हुन नसकेको शमशेरगञ्ज सव डिभिजन वन कार्यालय ओभरीका वरिष्ठ वन अधिकृत मनोज शर्मा लम्सालले बताए । चक्ला वनको मुख्य प्रजाति साल हो ।
जिल्लामा अर्को चक्ला वन क्षेत्र योजना कार्यान्वयनका लागि तयारी पनि थालिएको छ । सिनियर डिभिजनल वन अधिकृत गुप्ताका अनुसार राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर १ र ४ मा २२८९ हेक्टर क्षेत्रफलमा अर्को चक्ला वन कार्यक्रम कार्यान्वयनको तयारी भइरहेको छ । वन संवद्र्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन अन्तर्गतको वन क्षेत्र बाँकेमा ८४०३.१३ हेक्टर छ ।
जसमा सरकारद्वारा व्यवस्थित एउटा चक्ला वन २५७८ हेक्टर र २४ वटा सामुदायिक वन ५८२५.१३ हेक्टर क्षेत्रफलमा फैलिएको छ । डिभिजन वन कार्यालयको क्षेत्राधिकार भित्रको वन क्षेत्र ५७, ७३९.०६ हेक्टर छ । जुन कुल वन क्षेत्रको ४८.१४ प्रतिशत हो । डिभिजन वन कार्यालय अन्तर्गत जिल्लामा ६ वटा सव डिभिजन कार्यालय छन् ।
कार्यालय प्रमुख गुप्ताका अनुसार बाँके निकुञ्ज तथा त्यसको मध्यवर्ती क्षेत्र बाहेक जिल्लाको सम्पूर्ण भू(भाग डिभिजन वन कार्यालयको कार्य क्षेत्रभित्र पर्दछ । बाँकेमा नेपालगञ्ज र खजुरामा दुई प्रतिशत भन्दा कम वन क्षेत्र छ भने जानकीमा शून्य छ । डिभिजन वन कार्यालयले वहुमूल्य श्रीखण्ड प्रजातीको बिरुवा समेत बाँड्ने योजना गरेको छ । एक किलोको तीन हजार बढी मूल्य पर्ने श्रीखण्डको बिरुवा निशुल्क बाँड्ने तयारी गरिएको सिनियर डिभिजन वन अधिकृत गुप्ता बताउँछन् ।
आगामी वर्ष १७ हजार श्रीखण्डको बिरुवा उत्पादन गरेर वितरण गर्ने योजनामा रहेको उनले सुनाए । बहुमूल्य यो बिरुवा राष्ट्रिय वनमा लगाउन सम्भव देखिदैन । सामुदायिक वन, निजी वनमा लगाउदा स्याहार पुर्याउन सकिन्छ । २० वर्षमा यसले राम्रो आम्दानी दिने उनी बताउँछन् ।
श्रीखण्डका लागि अहिले प्युठान प्रसिद्ध बन्दै गएको छ । त्योबाहेक अन्य जिल्लामा श्रीखण्ड विस्तार हुन सकेको छैन । बाँकेमा परीक्षणका रुपमा ढकेरीमा श्रीखण्डको बिरुवा रोपिएको थियो । जो अहिले हुर्किरहेको छ । बाँकेमा पनि श्रीखण्डको सम्भावना देखेपछि बिरुवा उत्पादनको तयारी गरिएको गुप्ताले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार