रुकुमपूर्व : विसं. २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा रुकुमपूर्वका तीन विद्यालयको नतिजा शून्य आएको छ । गएको शुक्रबार राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा–१०, एसइईको नतिजा सार्वजनिक गरेको थियो ।
जिल्लामा २५ वटा सरकारी र एक निजी गरी जम्मा २६ वटा माध्यमिक विद्यालय छन् । २५ वटा सरकारी विद्यालयमध्ये तीन वटा विद्यालयका विद्यार्थी अनुत्तीर्ण भएका छन् । भूमे गाउँपालिका–२ मा रहेको त्रिवेणी मावि काँक्री, भूमे–४ मा रहेको जनशक्ति मावि काँडा र सिस्ने गाउँपालिका–४ मा रहेको जनप्रिय मावि दादिङको नतिजा शून्य आएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख तिलक गौतमले जानकारी दिए । मावि काँक्रीबाट १५ जना, मावि काँडाबाट २१ जना र मावि दादिङबाट १७ जना विद्यार्थीले एसइईको परीक्षा दिएका थिए ।
यसैगरी, जिल्लामा एक मात्र निजी मावि रहेको सिस्ने गाउँपालिका–६ रुकुमकोटस्थित हिमशिखा माविबाट पाँच जना विद्यार्थीले एसइई दिएका थिए । जसमा शतप्रतिशत विद्यार्थी नै उत्तीर्ण भएको इकाइ प्रमुख गौतमले बताए ।
जिल्लाको २६ वटा माविबाट नियमिततर्फ नौ सय २२ जना विद्यार्थीले एसइईको परीक्षा दिएका थिए । जसमा तीन सय २५ जना विद्यार्थी अर्थात ३५.२५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यसैगरी ग्रेडवृद्धि तर्फका दुई सय ६७ जनामध्ये एक सय २१ जना विद्यार्थी उत्तीर्ण भएका छन् । नियमित र ग्रेडवृद्धि दुबै तर्फका गरी चार सय ४६ जना अर्थात ४०.०३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने नियमित तर्फका पाँच सय ९७ जना र ग्रेड वृद्धि तर्फका एक सय ४६ गरी जम्मा सात सय ४३ जना विद्यार्थी अनुत्तीर्ण अर्थात नग्रेडेड भएका छन् ।
दस वटा मावि रहेको सिस्ने गाउँपालिकाबाट तीन सय ६६ जना विद्यार्थीले एसइई परीक्षा दिएका थिए । जसमा एक सय ७७ जना अर्थात ४८.३६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ८ वटा मावि रहेको भूमे गाउँपालिकाबाट दुई सय ८७ जना विद्यार्थीले परीक्षा दिएकामा ७७ जना अर्थात २६.८३ प्रतिशत उत्तीर्ण भएका छन् । साथै ८ वटै मावि रहेको पुथाउत्तरगङ्गा गाउँपालिकाबाट दुई सय ६९ जना विद्यार्थीले एसईई परीक्षा दिएकामा ७१ जना अर्थात २६.३९ प्रतिशत उत्तीर्ण भएका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार