नेपालगञ्ज : “स्वस्थ किशोर–किशोरी, समृद्ध भविष्य” भन्ने नारालाई आत्मसात गर्दै बर्दियाको बढैयाताल गाउँपालिकाले किशोर स्वास्थ्य सेवामा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ ।
बाँके युनेस्को क्लबको सहयोग तथा प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बढैयाताल गाउँपालिकाको वडा नम्बर ७ र ८ मा किशोर–मैत्री स्वास्थ्य संस्था घोषणा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
गाउँपालिकाको वडा नम्बर ७, तिलकनास्थित आधारभूत स्वास्थ्य केन्द्रलाई किशोर–मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो । वडा नम्बर ७ का वडा अध्यक्ष राधेश्याम थारुको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रदेशसभा सदस्य कबिराम थारु प्रमुख अतिथिका रूपमा उपस्थित थिए ।
कार्यक्रममा किशोर–किशोरी, युवा, स्वास्थ्यकर्मी, नागरिक समाजका प्रतिनिधि, विद्यार्थी, प्रधानाध्यापक, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका, सामुदायिक सहजकर्ता, स्थानीय सरकारका प्रतिनिधि तथा सञ्चारकर्मी गरी २५४ जनाको सहभागिता रहेको थियो ।
सो अवसरमा बाँके युनेस्को क्लबका उपनिर्देशक गोविन्द प्रसाद लामिछानेले आधारभूत स्वास्थ्य केन्द्रलाई प्रदान गरिएको सहयोग, किशोर तथा युवामैत्री कार्यक्रमहरू र भविष्यमा यसको दिगोपनाबारे प्रकाश पारे ।
कार्यक्रमको समापन गर्दै वडाध्यक्ष राधेश्याम थारुले आफ्नो वडा किशोर–मैत्री स्वास्थ्य संस्था घोषणा गर्ने गाउँपालिकाकै पहिलो वडा बन्न सफल भएकोमा गर्व व्यक्त गर्दै आगामी दिनमा किशोर–किशोरी र युवाको स्वास्थ्य आवश्यकतालाई प्राथमिकतामा राखेर काम गरिने प्रतिबद्धता जनाए ।
यस्तै बढैयाताल गाउँपालिका वडा नम्बर ८ स्थित कालिका स्वास्थ्य चौकीलाई पनि किशोर–मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ । वडा अध्यक्ष तेजनाथ पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठी प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा बाँके युनेस्को क्लबका उपनिर्देशक गोविन्द प्रसाद लामिछानेले किशोर–मैत्री स्वास्थ्य संस्था घोषणा प्रक्रियामा क्लबले खेलेको भूमिका, समुदायस्तरमा गरिएको जनचेतनामूलक गतिविधि र सरोकारवालाबीचको समन्वयबारे जानकारी गराउनुभयो । सो कार्यक्रममा २५६ जनाको सहभागिता रहेको थियो ।
समापन मन्तव्यमा वडाध्यक्ष पौडेलले किशोर–किशोरी नै समाजका भावी आधारस्तम्भ भएको उल्लेख गर्दै अभिभावकको भूमिकाको महत्त्वमा जोड दिए । उनले यस घोषणाले किशोर–सम्बन्धी समस्याहरू सम्बोधन गर्न बलियो आधार तयार भएको बताउँदै यस सेवाको निरन्तरता र सुदृढीकरणका लागि वडा कार्यालयले चालु आर्थिक वर्षमा बजेट समेत विनियोजन गरिएको जानकारी दिए ।
दुवै कार्यक्रम युवासञ्जालकी अध्यक्ष हिमा देवी खड्काले सञ्चालन गरेकी थिइन् भने बाँके युनेस्को क्लबका परियोजना अधिकृत विजय शर्मा र फिल्ड सुपरभाइजर रामबहादुर थारुले सहकार्य गरेका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार