नेपालगञ्ज : पवित्र रमजान महिनाको अवसरमा नेपालगञ्जस्थित मदिना मस्जिदमा विशेष धार्मिक कार्यक्रम सम्पन्न भएको छ । रमजानमा पढिने विशेष तराविह नमाजका क्रममा सात दिनमै पवित्र कुरआन पूर्णरूपमा पाठ गरी सुनाएको योगदानको कदर गर्दै मुस्लिम समुदायले धर्मगुरु सज्जाद अली रिज्बीलाई नगद १ लाख ६१ हजार ७ सय ८६ रुपैयाँसहित सम्मान गरेको हो ।
यसैगरी मौलाना अलहाज नसरुद्दीन अन्सारीलाई ५५ हजार रुपैयाँ, मोज्जीम मुन्सरीफ राजलाई ३५ हजार रुपैयाँ र नायब इमाम सहरे आलमलाई १३ हजार रुपैयाँ प्रदान गरिएको छ । सामूहिक सहयोगबाट संकलित कुल २ लाख ६१ हजार ७८६ रुपैयाँ बुधबार राति मस्जिदमा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा स्थानीय मुस्लिम अगुवा, बुद्धिजीवी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो। वक्ताहरूले सात दिनमै सम्पूर्ण कुरआन पाठ सम्पन्न गर्नु प्रेरणादायी कार्य भएको उल्लेख गरे । उनीहरूले यस्तो धार्मिक अभ्यासले समाजमा आध्यात्मिक चेतना, अनुशासन र सद्भाव बढाउने विश्वास व्यक्त गरे ।
सम्मान ग्रहण गर्दै रिज्बीले आफूलाई गरिएको सम्मान सम्पूर्ण मुस्लिम समुदायप्रतिको सम्मान भएको बताए । उनले कुरआनको सन्देशअनुसार शान्ति, सहिष्णुता र भाइचाराको भावना विस्तार गर्न आग्रह गरे ।
रमजान इस्लाम धर्मावलम्बीहरूका लागि आत्मशुद्धि, संयम र आध्यात्मिक उन्नतिको महिना हो । यस अवधिमा रोजा बस्ने, इबादत गर्ने र दान–पुण्यमा जोड दिइन्छ । धार्मिक विश्वासअनुसार रमजान महिनामा गरिने सुकर्मको विशेष महत्व रहने मान्यता छ ।
कार्यक्रममा मौलाना अन्सारीले आगामी फागुन २१ गते हुने निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबैले सहयोग गर्न आग्रह गरे । रमजान महिनाभर मस्जिदमा इफ्तार, नमाज र धार्मिक प्रवचनका कार्यक्रम सञ्चालन हुने जनाइएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार