नेपालगञ्ज : बाँके र बर्दियामा निर्माणाधिन र सञ्चालनमा रहेका खानेपानी आयोजनाहरुको स्थलगत अनुगमन गरिएको छ ।
लुम्बिनी प्रदेश खानेपानी तथा सहरी विकास मन्त्रालयअन्तर्गतको खानेपानी विभागका निर्देशक आविद अहमद नेतृत्वको टोलीले बाँके र बर्दियामा रहेका खानेपानी आयोजनामध्ये रुग्ण रहेका र राम्ररी सञ्चालनमा रहेका आयोजनाहरुको स्थलगत अनुगमन गरी जानकारी लिएको हो ।
खजुरा ४ ई गाउँस्थित खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको स्थलगत अनुगमनपछि खानेपानी विभागका निर्देशक अहमदले प्रदेश सरकारले प्रत्येक घरधुरीमा स्वच्छ पिउने पानी उपलब्ध गराउन निर्माणाधीन रहेका सम्पूर्ण आयोजना छिटोभन्दा छिटो सम्पन्न गर्ने प्रदेश सरकारको लक्ष्य रहेको बताए ।
उनले भने, “सङ्घीय सशर्त अनुदानबाट निर्माण भईरहेका सबै आयोजनाका लागि चालु आवमा बजेट कटौती गरिएपछि चुनौती थपिएको छ ।”
उनले सङ्घीय सशर्त अनुदानका योजनालाई निरन्तरता दिन केन्द्र सरकारसँग आवश्यक पहल गर्ने बताए । कतिपय योजनाहरु सम्पन्न हुने चरणमा पुगेको भए पनि बजेट कटौती भएकाले समस्या देखिएको खानेपानी तथा सरसफाइ कार्यालय नेपालगञ्जका प्रमुख विधान अर्यालले बताए । उनका अनुसार सङ्घीय सशर्त अनुदानबाट निर्माण भइरहेका ४२ वटा आयोजनाका लागि चालु आवमा बजेट कटौती गरिएको छ ।
बाँकेका चालु आवमा प्रदेश सरकारअन्तर्गत ४४ वटा आयोजना निर्माण भइरहेका छन् । तिमध्ये केही आयोजनाको काम सम्पन्न भइसकेको छ ।
कार्यालयले गत आव २०८१–८२ सम्म करिब २० हजार घरधुरीमा आयोजनाअन्तर्गत खानेपानीको धारा वितरण गरिएको जनाएको छ ।
बाँकेमा आव २०७५–७६ देखि प्रदेश सरकारले समेत खानेपानीमा काम गर्न थालेपछि खानेपानी आयोजना निर्माणको काममा तीव्रता आएको हो ।
खजुरा ४ स्थित खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष उज्वल बिसीले आठ सयभन्दा बढी घरधुरीमा खानेपानी विस्तार गरिएको र हालको ट्याङ्की सानो भएकाले थप ट्याङ्की आवश्यक देखिएको बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार