Listen LIVE

चरेस बोक्ने भरियाका रूपमा महिलाको प्रयोग

नेपालगञ्ज : पश्चिम नेपालका विभिन्न पहाडी जिल्लाका गरिब र विपन्न महिलालाई लागुऔषध चरेस भारत पु¥याउने भरियाका रूपमा प्रयोग गर्दै आएको पाइएको छ । 

यहाँस्थित नेपाल भारत नाकामा र नाका पारी भारतमा पक्राउ परेका महिलाले पैसाको लोभमा चरेस बोकेर नाका पार गराउन आएको बयान दिएपछि चरेस ओसारपसारमा महिलाको प्रयोग गरिएको पुष्टि भएको हो। 

रुकुम, सल्यान, रोल्पा, जाजरकोट र दैलेख जिल्लाका गरिब र विपन्न महिला लागुऔषध चरेससहित पटक–पटक भारतीय क्षेत्रमा पक्राउ पर्दै आएका छन्। 

भारतको रुपैडिहा थानाका प्रहरी प्रमुख शमशेरबहादुर सिंहले चरेससहित पटक पटक महिला मात्र पक्राउ पर्दै आएको जनाउँदै नेपालबाट भारतमा लागुऔषध चरेस तस्करी गर्ने तस्करले महिलालाई भरियाको रूपमा प्रयोग गर्दै आएको पाइएको हो। 

उनले पैसाको लोभमा परेर नेपाली महिलाले नाकाबाट चरेस पार गराउने गरेको बयान पक्राउ परेका महिलाले प्रहरीलाई दिने गरेको जनाउँदै सो बारेमा नेपालमा जनचेतना फैलाउनु आवश्यक रहेको बताए। 

भारतीय प्रहरीले जमुनाहा नाकामा चरेससहित पक्राउ गरेको करिब तीन दर्जन जति महिलाहरू भारत बहराइचको कारागारमा अझै बन्द रहेका छन्। उनीहरूका लागि कानुनी पैरवी गर्ने कोही नआउँदा कारागारमा बस्नु पर्ने बाध्यता रहेको प्रहरीको भनाइ छ।  

सोही क्रममा ठुलो परिमाणको लागुऔषध चरेससहित नेपालगन्जको सीमावर्ती भारतीय बजार रुपैडिहामा फेरि एक जना नेपाली महिलालाई भारतीय प्रहरीले पक्राउ गरेको छ।

नेपालबाट पाँच किलो चरेससहित भारतको रुपैडिहा पुगेकी रुकुमको काँक्रे निवासी ३५ वर्षीया रेखा बुढालाई भारतीय सुरक्षाकर्मीले खानतलासीको क्रममा पक्राउ गरेको हो। 

रुपईडिहास्थित एसएसबीको ४२ औँ वाहिनीका सत्येन्द्रकुमार सिंह नेतृत्वको टोली र रुपैडिहा थानाका इन्चार्ज शमशेरबहादुर सिंहको नेतृत्वमा रहेको संयुक्त टोलीले चेकजाँच गर्दा बुढाको साथबाट पाँच किलो चरेस फेला पारेको भारतीय प्रहरीले जनाएको छ। 

रुपईडिहा थानाका इन्चार्ज शमशेरबहादुर सिंहले नेपाली महिलाबाट बरामद गरिएको चरेसको अन्तर्राष्ट्रिय बजारमा करिब डेढ करोड मूल्य रहेको जनाउँदै पक्राउ परेकी बुढालाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत बहराइच चलान गरिएको बताए।

प्रतिक्रिया