नेपालगञ्ज : प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन भारतसँग जोडिएका बाँके जिल्लामा फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म सम्पूर्ण सीमा नाका बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार गुरुङका अनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सीमा क्षेत्रमा विशेष सुरक्षा सतर्कता अपनाइएको हो ।
फागुन २० गते राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म अत्यावश्यक सेवाबाहेक सबै सवारीसाधन सञ्चालनमा रोक लगाइने छ । एम्बुलेन्स, दमकल, दूरसञ्चार, शववाहन, विद्युत् सेवाका सवारीसाधन तथा निर्वाचन आयोगबाट सिफारिस प्राप्त कूटनीतिक नियोगका सवारीसाधन र अनुमति प्राप्त गाडी मात्र सञ्चालनमा रहने जनाइएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी गुरुङले निर्वाचन प्रचारप्रसारका क्रममा भारतीय सवारीसाधनको प्रवेश नियन्त्रण गर्न भारतीय सुरक्षा निकायसँग समेत समन्वय र सहयोग माग गरिएको जानकारी दिए ।
सुरक्षा तथा प्रशासनिक निकायको संयुक्त बैठकले सीमा क्षेत्रमा संयुक्त गस्तीलाई थप सुदृढ गर्ने निर्णय गरेको छ । अवैध प्रवेश, लागुऔषध ओसारपसार, मानव बेचबिखन, नक्कली मुद्रा कारोबार, हातहतियार तथा अवैध नगद तस्करीजस्ता गतिविधि नियन्त्रण गर्न दुवै देशका सुरक्षा निकाय प्रतिबद्ध रहेको प्रशासनले जनाएको छ ।
निर्वाचन सुरक्षालाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक जनशक्ति परिचालन गरिसकिएको र शान्तिपूर्ण, मर्यादित तथा व्यवस्थित रूपमा निर्वाचन सम्पन्न गराउन प्रशासन दृढ रहेको सहायक प्रमुख जिल्ला अधिकारी गुरुङले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार