बैजनाथ (बाँके) : बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ७ पेडारीबाट शहिद बैजनाथ थारुको गाउँबाट जग्गा नापजाँच शुरु गरिएको छ ।
बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही, भूमि आयोग बाँकेका अध्यक्ष घननाथ खनाल, आयोग बाँकेका सदस्य केशव शाह, गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय, प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, बैजनाथ–७ का वडाअध्यक्ष दिनेशकुमार चौधरीलगायतले संयुक्तरुपमा जग्गा नापजाँचको शुभारम्भ गरे ।
गतवर्ष पनि बैजनाथ–७ को पेडारीमा आयोगले जग्गा नापजाँचको काम शुरु गरेलगत्तै सरकारले आयोगलाई विघटन गरेपछि काम बीचमै रोकिएको थियो । शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै बैजनाथ गाउँपालिका अध्यक्ष शाहीले राम्रो कामको शुरुवात बैजनाथ–७ बाट आफूहरूले गर्दै आएकोमा जग्गा नापजाँचको काम पनि सोही वडाबाट शुरु गरिएको जानकारी दिए ।
२००७ सालको आन्दोलनका क्रममा शहिद भएका बैजनाथ थारुको जन्म गाउँबाट अभियान शुरु गरेको बताउँदै अध्यक्ष शाहीले भने, ‘हामीले असार मसान्तभित्रमा लालपुर्जा बाँड्ने तयारी गरेका छौँ, कुनैपनि विवाद आयो भने वडामा रहेको सहजीकरण समितिले समाधान गरिदिनुपर्छ ।,’ भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने काममा सबै राजनीतिक दलले अपनत्व लिनुपर्ने अध्यक्ष शाहीले बताउनुभयो । अध्यक्ष शाहीका अनुसार बैजनाथ गाउँपालिका भरी १० हजार १ सय १२ परिवार भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासी रहेका छन् ।
यी मध्ये ७ हजार ५ सय ७४ परिवार अव्यवस्थित बसोबासी, १ हजार ६ सय ८ परिवार भूमिहीन सुकुम्बासी र ९ सय ३० परिवार भूमिहीन दलित रहेका अध्यक्ष शाहीले जानकारी दिए ।
यस्तै आयोग बाँकेका अध्यक्ष खनालले आफ्नो कार्यकालमा जिल्लाका सबै भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिने बताए । आयोग बाँकेका अनुसार जिल्लाभर ५३ हजार ७ सय ५ जना भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासी रहेका छन् । यी मध्ये ४३ हजार २ सय २६ परिवार अव्यवस्थित बसोबास, ६ हजार ७ सय ९८ परिवार भूमिहीन सुकुम्बासी र ३ हजार ६ सय ८१ परिवार भूमिहीन दलित रहेको आयोगले जनाएको छ ।
उनले बाँकेका तीन वटा स्थानीय तहमा चालु आर्थिक वर्ष २०८१÷०८२ भित्रै लालपुर्जा बाँड्ने तयारी भइरहेको जानकारी दिए । बैजनाथ गाउँपालिका, कोहलपुर नगरपालिका र राप्ती सोनारी गाउँपालिकाका केही वडाहरूमा जग्गा नापजाँच गरी लालपुर्जा बाँड्ने तयारी गरिएको जिकिर गरे । उनले भने, ‘पालिकाहरूमा जग्गा नाप जाँचको काम चलिरहेको छ, आगामी असार मसान्तभित्र पालिकाको केही वडाहरूमा लालपुर्जा वितरण गर्ने आयोगको योजना छ ।,’
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार