Listen LIVE

नेपालगञ्जको नालामा फोहोर र दुर्गन्ध बढ्दै, सफाइ गर्न माग

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाको सेतु बिक चोक र बागेश्वरी फिल्म हल नजिकैको बजार क्षेत्रमा रहेको नाला लामो समयदेखि सफा नहुँदा स्थानीयवासी आक्रोशित बनेका छन् । नालामा फोहोर र दुर्गन्ध बढ्दै गएपनि उपमहानगरपालिकाले कुनै चासो नदेखाएको स्थानीयको गुनासो छ ।

गोपालप्रसाद गिरीका अनुसार, नालाको फोहोरले वातावरण प्रदूषित भएको छ भने बर्षायाममा पानी जम्ने र बाढीको जोखिम बढ्ने सम्भावना छ । “हामीले पटक–पटक उपमहानगरपालिकालाई नाला सफा गर्न आग्रह ग¥यौं, तर कुनै सुनुवाइ भएको छैन,” एक स्थानीय व्यापारीले गुनासो गरे । “सफाइ इन्चार्ज दीपेश श्रेष्ठलाई फोन गर्दा उनी जवाफ दिंदैनन्, भेटेर कुरा गर्दा पनि बेवास्ता गर्छन् ।”

नेपालगञ्ज उपमहानगरपालिकाले फोहोर व्यवस्थापनमा कडाइ गरेको दाबी गरे पनि बजार क्षेत्रको यो समस्या समाधानमा ध्यान नदिएको स्थानीयको आरोप छ । “उपमहानगरपालिकाले सडकमा फोहोर फाल्नेलाई जरिवाना त गर्छ, तर नाला र बजारको समग्र सफाइमा कुनै प्रभावकारी कदम चालेको देखिंदैन,” अर्का स्थानीयले भने । “फोहोर व्यवस्थापनको नाममा पैसा कमाउने धन्दा चलेको छ, तर जनताको स्वास्थ्य र वातावरणको ख्याल छैन ।”

यसैगरी गोपालप्रसाद गिरी वा स्थानीयवासीले नाला सफाइ र फोहोर व्यवस्थापनका लागि कडा कानुन बनाउन र प्रभावकारी कार्यान्वयन गर्न माग गरेका छन् । “हाम्रो बजार फोहोरले कुरूप बन्दैछ । जनप्रतिनिधिहरूलाई यो कुरा थाहा छ, तर उनीहरूले कुनै चासो दिंदैनन्,” एक बासिन्दाले भने । “नाला सफा गर्न र फोहोर व्यवस्थापनमा कडा कानुन लागू गर्न जरुरी छ ।”

नेपालगञ्ज उपमहानगरपालिकाले सडकमा फोहोर फाल्ने मेडिकलहरूलाई जरिवाना गरेको समाचार बाहिरिएको छ, तर नाला सफाइ जस्ता आधारभूत समस्यामा ध्यान नदिएको भन्दै स्थानीयले आलोचना गरेका छन् । उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले यस्ता समस्यामा कडाइ गर्ने बताए पनि ठोस कार्ययोजना र कार्यान्वयनको अभावले जनताको असन्तुष्टि बढ्दै गएको छ ।

गिरीले उपमहानगरपालिकालाई तत्काल नाला सफाइ गर्न, फोहोर व्यवस्थापनमा पारदर्शिता ल्याउन र जनताको गुनासो सुन्न जवाफदेही बन्न आग्रह गरेका छन् ।

प्रतिक्रिया