जुम्ला : चार वर्षअघिसम्म बिक्री हुन नसकेर सके खाने, नसके त्यसै खेर जाने कर्णाली प्रदेशका रैथाने बाली अहिले बारीबाटै धमाधम बिक्री हुन थालेका छन् । मानव स्वास्थ्यका लागि लाभदायक रैथाने बाली आम्दानीको राम्रो स्रोत हुन थालेका छन् ।
अहिले यहाँका कृषक खेतबारीबाटै रैथाने बाली बिक्री हुन थालेको बताउँछन् । रैथाने बालीमा फापर, कोदो, सिमी, चिनो, कागुनो, जौलगायत पर्दछन् । मुगुको छायानाथ रारा नगरपालिका–८, ढोटुकी ४० वर्षीय रामदेवी रावलले पहिले गुजारा गर्ने तरिकाले सामान्य तरकारी खेती गर्थे तर अहिले फापर, कोदो, जौ र सिमी लगाएर उहाँ मनग्गे आम्दानी गर्न थालेका छन् । रैथाने बाली लगाएपछि उत्पादन पनि ह्वात्तै बढेको उनले बताए । यस वर्ष पाँच क्विन्टल कोदो, एक क्विन्टल फापर, चार क्विन्टल आलु बिक्री गरेको जानकारी उनले दिए । आफ्नो पाँच रोपनी जग्गामा रैथाने बाली मात्रै लगाउनुभएको उनले रैथाने उत्पादन खरिद गर्न व्यापारी बारीमै आउने गरेको बताए ।
यसै गरी सोही ठाउँकी चन्द्रा रावलले पनि रैथाने बाली लगाउँदा उत्पादनका साथै आम्दानीमा पनि वृद्धि भएको जनाए । उनले सबै रैथाने बाली गरी यस पटक करिब १५ क्विन्टल जति उत्पादन गरेको बताए । साउनमा फापर, भदौमा कोदो, कात्तिक–मङ्सिरमा जौ र चैतमा आलु र कोदो छर्ने तालिका रहेको उनले उल्लेख गरे । विगतमा अलि अलि उत्पादन गर्ने र खान ठिकै हुने गरेको स्मरण गर्दै उनले चार वर्षयतादेखि बढी उत्पादन गरी बेच्न थालेको जानकारी दिए । सोही ठाउँमा करिब २६ जना कृषकले रैथाने बाली लगाएका छन् ।
जुम्ला पातारासी गाउँपालिका–४, डोलकाँटीका तारादेवी बुढाले पनि रैथाने बाली लगाएकी छन् । उनले अहिले भर्खरै दुई क्विन्टल जुम्ली सिमी, २५ केजी कागुनो, एक क्विन्टल कोदो बिक्री गरेकी छन् । ती बालीलाई बिक्री गर्न बाहिर जानै पर्दैन । जुम्ला खलङ्गामा रहेको चन्दननाथ सहकारीले घरमै आएर खरिद गरेर लैजाने गरेको उनले बताइन् । सोही ठाउँकी सरिता बोहोराले पनि सिमी, कागुनो, चिनो बिक्री गरेकी छन् । स्थानीय उत्पादन भएकाले कतिपय व्यापारीले केही सस्तोमा खोज्ने गरेको गुनासो उनले गरिन् ।
डोलकाँटी र तिर्खु गाउँका करिब तीन सय घरधुरीले अहिले रैथाने बाली लगाइरहेका छन् । उत्पादन जति गरे पनि खेर नजाने भएकाले व्यापारी घरबारीमै खरिद गर्न आउने गरेको भनाइ उनीहरूको छ । उत्पादन बढ्न थालेपछि उपभोगमा पनि वृद्धि भएको छ । स्वास्थ्यका दृष्टिले पनि निकै पौष्टिकयुक्त भएकाले अहिले रैथाने बालीको उत्पादनको माग बढेको किसानको भनाइ छ । विगत चार वर्षदेखि साबिक कर्णाली (जुम्ला, कालीकोट, हुम्ला, मुगु र डोल्पा) मा रैथाने बालीलाई संरक्षित गर्दै उत्पादन बढाउन लागिएको छ । पहिले हराउँदै गएको रैथाने बालीको माग बढ्दै जाँदा र सहयोगी निकायले पनि उन्नत जातका बिउ, स्थानीय विषादी, तालिम र सिप प्रदान गरेपछि रैथाने बालीको संरक्षण गर्दै पुनः खेती गर्न थालिएको छ ।
रैथाने बालीको संरक्षण र उत्पादनमा सङ्घीय सरकारको कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयको कृषि क्षेत्र विकास कार्यक्रमले सहयोग गर्दै आएको छ । जुम्ला, मुगु, डोल्पा, हुम्लामा कोदो, फापर, कागुनो, चिनो, सिमी, जौ जस्ता रैथाने बालीको प्रवर्धन गरिएको छ । कृषि क्षेत्र विकास कार्यक्रम, कार्यक्रम समन्वय कार्यालय सुर्खेतका अनुसार २०७६ सालदेखि ती जिल्लामा रैथाने बालीको उत्पादन बढाउन संरक्षण, प्रवर्धन र उत्पादनमा जोड दिइएको छ । सो कार्यालयका लैङ्गिक समानता र सामाजिक समावेशीकरण कार्यक्रम अधिकृत रुद्र आचार्यले यी जिल्लामा दुई हजार ५८४ कृषक रैथाने बाली उत्पादनमा संलग्न भएको बताए ।
उनका अनुसार विगतमा तीन रोपनीमा लगाउने रैथाने बाली अहिले सात रोपनीमा बढाएका छन् । पहिले प्रतिघर ६५ केजी मात्र उत्पादन हुने गरेकोमा अहिले ८० केजी उत्पादन हुने गरेको छ । यस्तै रैथाने बाली उत्पादनबाट प्रतिघर डेढ लाखदेखि तीन लाख रुपैयाँसम्म आम्दानी हुन थालेको छ । यस कार्यक्रमले अहिलेसम्म रैथाने बालीका लागि छ करोड २७ लाख ३६ हजार १६६ रुपियाँ लगानी गरेको छ । कृषकहरूलाई समूहमा आबद्ध बनाई उनीहरूको आवश्यकताका आधारमा उन्नत जातका बिउ, मल, तालिम, औजार, वित्तीय शिक्षालगायतको सहयोग गर्ने गरिएको अधिकृत आचार्यको भनाइ छ ।
रैथाने बालीका लागि प्रतिकिसान करिब २५ हजार लगानी लागेको बताइएको छ । कार्यक्रमका सञ्चार अधिकृत रत्नबहादुर बुढाले पछिल्लो समय बजारमा माग बढेपछि रैथाने बालीको उत्पादन बढाउन र संरक्षण गर्न साबिक कर्णालीका कृषक अग्रसर देखिएका हुन् ।
उहाँले रैथाने बालीको उत्पादन बढ्न थालेपछि स्थानीय पालिकाले पनि आआफ्नो पालिकामा रैथाने बाली संरक्षण, उत्पादनमा जोड दिन थालेको पाइएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार