Listen LIVE

हनीट्र्यापमा पारेर लाभ उठाउने महिला पक्राउ

नेपालगञ्ज : प्रेम तथा शारीरिक सम्बन्धको जालमा पारेर धम्की दिँदै नगद तथा जिन्सी सामान असुल गर्ने कार्यमा सङ्लग्न आरोपमा बाँके प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरका अनुसार पक्राउ पर्नेमा रामेछापको गोकुलगङ्गा गाउँपालिका–२ घर भई हाल काठमाडौँ महानगरपालिका –१०, सुकेधारामा कोठा भाडामा लिएर बस्दैआएकी ३० वर्षीया सविता श्रेष्ठ रहेकी छन् ।

प्रहरीका अनुसार श्रेष्ठले बाँकेको बैजनाथ गाउँपालिका –२ बस्ने ३२ वर्षीय एक पुरुषलाई ब्ल्याकमेलिङ गरी आपराधिक लाभ उठाउने योजना बनाएकी थिइन् । प्रारम्भिक अनुसन्धानअनुसार उनले ती पुरुषलाई माया, प्रेम तथा शारीरिक सम्बन्धको जालमा पारी त्यसपछि विभिन्न मुद्दामा फसाइदिने भन्दै डर, त्रास र धम्की दिएकी थिइन् ।

धम्की दिएर पटक–पटक नगद तथा जिन्सी सामान लिन थालेपछि पीडितको उजुरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ । अनुसन्धानका क्रममा श्रेष्ठ …हनी ट्र्यापÚमा पारेर आपराधिक लाभ उठाउने कार्यमा सङ्लग्न रहेको खुलेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रहरीले प्रेम तथा सम्बन्धको बहानामा अपरिचित व्यक्तिसँग नजिकिएर आर्थिक लाभ लिने, ब्ल्याकमेलिङ गर्ने तथा धम्की दिने गतिविधि हुन सक्ने भन्दै यस्ता घटनामा सावधानी अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया