Listen LIVE

गैरसरकारी संस्थाहरुको ‘बार्षिक प्रगति समिक्षा कार्यक्रम’ सम्पन्न

नेपालगञ्ज : नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको बार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा गैरसरकारी संस्थाहरुद्वारा उपमहानगर क्षेत्रमा सञ्चालन गरी सम्पन्न भएका परियोजनाहरुको आर्थिक बर्ष २०८१÷८२ को बार्षिक प्रगति समिक्षा तथा चालू आर्थिक बर्ष २०८२÷८३ मा सञ्चालन हुने परियोजनाहरुको प्रस्तुति कार्यक्रम सम्पन्न गरिएको सामाजिक विकास एवम् गैसस शाखा प्रमुख कृष्ण प्रसाद जोशीले बताए । 

कार्यक्रममा दुई दर्जन संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिले गत आर्थिक बर्षमा गरेका क्रियाकलाप र चालू आर्थिक बर्षमा हुने कार्यक्रमबारे प्रस्तुतिकरण गरेका थिए ।

त्यसअघि उदघाटन कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको उदघाटन नगर प्रमुख प्रशान्त विष्टले गरेका थिए । कार्यक्रम उदघाटन गर्दै उनले नेपालगञ्जको विकास र समृद्धिका लागि संघ संस्थासंग हातेमालो गर्दै अघि बढिरहेको बताए । उनले संघ संस्थाबीच काम गर्दा समन्वय हुनुपर्नेमा जोड दिँदै ‘डुप्लिकेशन’ हुन नहुनेमा सजग रहनुपर्ने बताए । समाजमा तात्विक परिवर्तन आउने गरी कार्यक्रम र परियोजनाहरु केन्द्रित हुनुपर्ने उनको भनाई छ । 

प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले नागरिक र समाजको आवश्यकता बोध गरी त्यसै प्रकारका कार्यक्रम डिजाइन गरेर कार्यान्वयन गर्दा परिणाममुखी हुने भन्दै त्यसका लागि सहकार्य गर्न नेपालगञ्ज उमहानगरपालिका सधैं तत्पर रहने बताए । उपप्रमुख कमरुद्दिन राईको अध्यक्षतामा उदघाटन सत्र सम्पन्न भएको थियो । 

उदघाटन कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न विषयगत समितिका संयोजक, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, गैरसरकारी संस्था महासंघ बाँकेका कार्यबहाक अध्यक्ष रमेश सिटौला लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया