Listen LIVE

नेपालगञ्जमा छाडा चौपायाका कारण आवागमनमा समस्या

नेपालगञ्ज : नेपालगञ्जमा ठुलो समस्याका रूपमा रहेका छाडा चौपायालाई अझै व्यवस्थित गर्न नसक्दा फेरि पनि सडक र चोकमा चौपायाको सङ्ख्या बढ्दै गएको छ । उपमहानगरका अधिकांश मुख्य चोक र सडकमा अहिले फेरि छाडा घोडा, खच्चड र गाईगोरुले बास बनाएपछि ती सडकमा आवागमन गर्ने सर्वसाधारणलाई समस्या भइरहेको छ । 

बेला बेलामा नेपालगञ्ज उपमहानगरपालिकाले केही छाडा चौपायालाई बजार क्षेत्रबाट लखेटेर कान्जी हाउससम्म पुर्याएको देखाउँदै आए पनि सो समस्याको स्थायी समाधानका लागि कुनै पनि पहल नगरेको स्थानीयको गुनासो छ । नागरिक सरोकार समाज बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले हरेक दिन सहरको मुख्य चोक र सडकमा छाडा चौपायाको कब्जा देखिँदै गए पनि स्थानीय निकायले कुनै वास्ता नगरेको पाइएको बताए । 

उनले नेपालगञ्जको मुख्य सडक सुर्खेत रोड, सदरलाइन र अस्पतालनजिकका सडक चोकमा जताततै सडक अवरुद्ध गर्ने घोडा, खच्चड र गाईगोरुको व्यवस्थापनमा स्थानीय सरकारको कुनै पनि गम्भीर चासो नहुनु दुःखद भएको बताए । 

यस्तै नेपालगञ्जका अर्का सामाजिक अभियन्ता हेमन्तराज काफ्लेले छाडा चौपायाको समस्याप्रति उपमहानगरपालिकाले गम्भीर भएर ध्यान नदिएकै कारण पटक पटक दुर्घटनालगायतका समस्या दोहोरिने गरेको गुनासो गरे ।  उनले अहिले फेरि सहरको मुख्य चोक त्रिभुवन चोक, धम्बोझी चोक, बिपी चोक, पुष्पलाल चोक र गणेशमान चोकलगायत सुर्खेत रोड र सदरलाइनमा सबैभन्दा बढी छाडा घोडा र खच्चड भेटिने गरेको बताए । 

छाडा चौपायाकै कारण ती क्षेत्रमा दुर्घटनाको जोखिमसँगै आवागमनमा समेत समस्या हुने गरेको अधिकांश स्थानीयको भनाइ छ । घोडा, खच्चड र गाईगोरु जस्ता चौपाया पाल्नेले अटेरी गरेकै कारण नगरका अधिकांश सडकमा चौपायाको मलमूत्रबाट दुर्गन्ध र फोहोर बढ्नुका साथै दुर्घटनासमेत निम्तिने गरेको अर्का स्थानीय अभियन्ता डा. विनोद कर्णले बताए । 

सोबारेमा नेपालगञ्ज उपमहानगरपालिकाको ध्यानाकर्षण गराउँदा छाडा चौपायाको समस्या समाधानका लागि पटक पटक गम्भीर प्रयास गरिएको र अझै पनि सो प्रयास जारी रहेको नगरप्रमुख प्रशान्त विष्टले बताए । उनले छाडा चौपाया नछोड्न स्थानीयलाई पटक पटक आग्रह गर्दा पनि सो कार्य नरोकिएकोले व्यवस्थापनमा समस्या भएको बताए ।

प्रतिक्रिया