Listen LIVE

महिला तथा बालबालिका बेचबिखनको जोखिममा

नेपालगञ्ज : गत असोज २७ गते सुर्खेतको भेरी गङ्गा नगरपालिका छिन्चुबाट भागेका दुई बालबालिका ३० गते नेपालगञ्जस्थित सीमानाका जमुनाहामा फेला परे । भारत जाँदै गरेका उनीहरुलाई नेपाल प्रहरीले नियन्त्रणमा लियो ।

जोखिमपूर्ण यात्रामा रहेका उनीहरुलाई अभिभावकको जिम्मा लगाएको इलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी निरीक्षक उपेन्द्र बुढाथोकीले जानकारी दिए । “दुई बालबालिकालाई हामीले नाकाबाट फिर्ता गरायाँै, दुई जनाको खोजतलास गर्दा गाउँमै लुकेर बसेको भेटियो”, प्रहरी निरीक्षक बुढाथोकीले भने, “प्रेम सम्बन्धमा परेर सानै उमेरमा बालबालिकाले घर छाडेर भारत जाने क्रम बढेको छ ।”

अधिकांश भारत जान लागेको महिला तथा बालबालिका प्रेमजालमा परेको बताउने प्रहरी निरीक्षक बुढाथोकीले बताए । उनले दसैँमा सुर्खेत, सल्यानलगायत जिल्लाबाट उमेरै नपुगेका बालबालिका घरबाट भागेर भारत जाने क्रममा नियन्त्रण लिई अभिभावकको जिम्मा लगाएको बताएए ।

मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कार्यरत संस्था माइती नेपाल नेपालगन्ज कार्यालयमा दसैँ अवधिमा महिला तथा बालबालिका हराएको भनी ४९ जनाको खोजतलासको निवेदन दर्ता भएको छ । हराउने ४९ मध्ये ३२ जना १८ वर्षमाथिका महिला, १२ जना १८ वर्षमुनिका बालिका र पाँचजना बालक रहेको माइती नेपाल नेपालगञ्ज कार्यालयका संयोजक केशव कोइरालाले जानकारी दिए । हराएकामध्ये आठजना फेला पारेको समेत माइती नेपालले जनाएको छ ।

सामाजिक सञ्जाल फेसबुक र टिकटकबाट चिनाजानी भएकै आधारमा विश्वास मानी भारत जाने महिला तथा बालिका मानव बेचबिखनको उच्च जोखिममा रहेको अधिकारकर्मी बताउँछन् ।

माइती नेपालले बाँकेको नेपालगञ्जस्थित नेपाल–भारत सीमा जमुनाह नाकाबाट दसैँ अवधिमा ४५ महिला तथा बालबालिकाको उद्धार गरेको छ । गत असोज १ देखि ३० गतेसम्म जमुनाह नाका हुँदै भारत जाने क्रममा जोखिमपूर्ण यात्रामा रहेका महिला तथा बालबालिकालाई माइती नेपाल नेपालगञ्जले सीमा नाकाबाट उद्धार गरेको हो ।

प्रतिक्रिया