Listen LIVE

हिमाली जिल्ला हुम्लामा हिमपात

हुम्ला : हिमाली जिल्ला हुम्लामा बिहीबार बिहानबाट हिमपात भएको छ । बुधबार बेलुकाबाट हावाहुरी चलेको र रातभर मौसम बदली रहेको बेला हिमपात सुरु भएको हो । 

बिहानबाट जिल्लाभर हिमपात भएको सिमकोट गाउँपालिका–५ का लोकेन्द्र रावतले जानकारी दिए । बिहानभरि आकाशमा बादल लागेर हिमपात भएको उनले बताए । सिमकोटमा परेको हिउँ जमिनमा जम्न सुरु भएको छ भने चिसो बढेको उनले बताए । 

त्यसैगरि नाम्खा गाउँपालिकाका सबै वडामा पनि हिमपात सुरु भएको नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले बताए । लिमीमा एक इन्चभन्दा बढी हिउँ जमिसकेको छ । 

हिउँ पर्ने क्रम जारी रहेको बताउँदै उनले अग्ला स्थान न्यालु, नारा, लाप्चा क्षेत्रमा बाक्लो हिउँ परिरहेको बताए । हिउँ परिरहेको कारण चिसो निक्कै बढेको छ । यो हिमपात पाँचौं पटक हो । यसवर्षको पहिलो हिमपात गत मङ्सिर ११ गते भएको थियो ।

प्रतिक्रिया