Listen LIVE

सुनको तक्मा लगाएर ज्ञानोदयकी शिक्षिकाको बिदाइ

खजुरा (बाँके) : बाँकेको खजुरास्थित ज्ञानोदय माध्यमिक विद्यालयले सेवानिवृत्त भएकी विद्यालयका एक शिक्षिकालाई एक लाख रुपैयाँको सुनको तक्मा दिएर बिदाइ गरेको छ । सो विद्यालयका शिक्षिका पदमा शर्मालाई सुनको तक्मासहित भव्य समारोहकाबिच बिदाइ गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमसरा भण्डारीले बताए ।

उनले गत ३६ वर्षदेखि सोही विद्यालयमा अध्यापनरत शिक्षिका शर्मालाई बिदाइ गर्न ठुलो सङ्ख्यामा अभिभावक र विद्यार्थी भेला भएको बताए ।

२०४५ साल भदौ १२ गतेदेखि ज्ञानोदयमा अस्थायी शिक्षिकाका रूपमा सेवा प्रवेश गरेकी शर्माले २०४८ सालमा स्थायी भई २०८१ कात्तिक ३० गते सेवानिवृत्त भएकी हुन् ।

झण्डै चार दशक शिक्षिकाका रूपमा निरन्तर सेवारत शर्माको बिदाइमा विद्यालय व्यवस्थापन समिति र शिक्षक कर्मचारी परिवारले गरेको यो सम्मानले शिक्षक वर्गकै गरिमा बढाएको विद्यालयका प्रधानाध्यापक ऋषिराम सापकोटाले बताए ।

उनले समाजमा शिक्षण पेशाप्रति बढ्दै गइरहेको निराशालाई पनि यसले उत्साहमा परिणत गर्न सहयोग पुर्याएको बताए ।

उनका अनुसार विद्यालय व्यवस्थापन समितिले सेवा निवृत्ति शिक्षक शर्मालाई एक लाख बराबरको सुनको तक्मा लगाएर भव्य कार्यक्रमका बिच सम्मानपूर्वक बिदाइ गरेको हो । प्रधानाध्यापक सापकोटाले शर्माको शैक्षिक योगदानको चर्चा गर्दै उन हजारौं विद्यार्थी र अभिभावकको प्रिय रहेको बताए ।

विद्यालयले शिक्षक शर्माको संक्षिप्त जीवन उल्लेखित ताम्रपत्रसमेत प्रकाशन गरेको छ । एक लाखको सुनको तक्माबाहेक शिक्षक, कर्मचारीहरूको एकदिनको तलबबाट सङ्कलित ६५ हजार बराबरको सुनको गहनाले पनि शर्मालाई शिक्षक, कर्मचारी परिवारले सम्मान गरेको छ ।

सो अवसरमा शिक्षिका शर्माको जीवनी वाचन गर्दै ज्ञानोदयका सहायक प्रधानाध्यापक यमनारायण महतराले भूतपूर्व विद्यार्थीहरूको तर्फबाट मायाको चिनो प्रदान गरिएको बताए । खजुरा गाउँपालिकाका निवर्तमान अध्यक्ष किस्मतकुमार कक्षपतिले सुनको तक्मा लगाउनुका साथै ताम्रपत्र र गहना प्रदान गरेर शर्माको बिदाइ गरे । सो कार्यक्रममा वडाध्यक्ष पूर्णबहादुर भण्डारी, शिक्षक अभिभावक सङ्घका अध्यक्ष मानबहादुर भण्डारीलगायतले उनको शैक्षिक योगदानको चर्चा गरेका थिए ।

प्रतिक्रिया