Listen LIVE

विद्यार्थीको पोशाक भारतमा किन्न पठाए कारबाही गरिने

नेपालगञ्ज : बाँकेका निजी विद्यालयहरूले सेटिङ मिलाएर विद्यार्थीको पोशाक सीमापारि भारतको रुपईडिहाबाट खरिद गर्न लगाउने गरेको गुनासो आएपछि त्यस्तो गर्नेलाई कडा कारबाही गर्ने चेतावनी प्रमुख जिल्ला अधिकारीले दिएका छन् ।  

बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले विद्यार्थीको पोशाक सेटिङमा सीमापारिबाट खरिद गर्न लगाउने गरिएको गुनासो अभिभावकबाट आएको जनाउँदै त्यस्तो नगर्न विद्यालयका सञ्चालकहरूलाई आग्रह गरे । 

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले नेपालमै पोशाक खरिद गर्न सीमापारी पठाउने विद्यालय सञ्चालकलाई जिल्ला प्रहरी कार्यालयको अतिथि बन्नुपर्ने चेतावनी दिए । 

विद्यालयको पोशाक समेत खरिदका लागि भारत पठाउने गरिएको जनगुनासो आएको जनाउँदै प्रजिअ जोशीले भने–‘पोसाक खरिदका लागि पनि विद्यालयले नै विद्यार्थीलाई भारत पठाउने गरेको गुनासो छ । यस्तो कार्य अपराध हो । भारतीय बजारमा पोसाक किन्न पठाउने विद्यालय सञ्चालक कारवाहीको भागिदार हुनुपर्नेछ ।’ 

विद्यार्थी वा अभिभावकलाई भारतमा पोशाक किन्न पठाएको भेटिएमा सिधै जिल्ला प्रहरी कार्यालयको अतिथि बन्नुपर्ने चेतावनी दिंंदै उनले अहिलेसम्म जे जस्तो भएपनि अब यस्तो एक दिन पनि नचल्ने बताए । 

प्रमुख जिल्ला अधिकारी जोशीले एउटा सानो घरायसी सामानका लागि पनि सीमापारी जाने चलन यहाँ रहेको पाइएको जनाउँदै तर अब यस्तो गर्न नपाउने र गर्नेहरूलाई कानुनी दायरामा ल्याइने प्रष्ट पारे । 

बाँके जिल्ला भरीका सबै निजी विद्यालयको एउटै पोशाक बनाउने सहमति गर्न सुझाव दिँदै उनले जिल्लाभरका विद्यालयको एउटै पोशाक बनाउन बाँकेबाट सुरुवात गर्ने सुझाव पनि दिए । 

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामीले कमिशनका लागि विद्यालय सञ्चालकले विद्यार्थीको पोशाक, कापी, कलम र अन्य स्टेशनरी भारतबाट ल्याउन लगाउने गरेको बताए । 

उनले स्थानीय गार्मेन्ट व्यवसायीले भारत भन्दा नेपालमै गुणस्तरीय र सस्तो दरमा पोशाक उपलब्ध गराउन सकिने प्रतिबद्धता जनाएको बताउँदै नेपालबाटै पोसाक खरिद गर्न सबैलाई आग्रह गरे । 

सीमापारी रुपैडिहामा रहेको अग्रवाल ड्रेसेज भन्ने पसलबाट नेपालगन्ज र सो वरिपरिका अधिकांश विद्यालयका विद्यार्थी र अभिभावकले विद्यालयको निर्देशनमा पोसाक खरिद गर्ने गरेको पाइएको छ । 

बाँकेमा प्रमुख जिल्ला अधिकारी भएर आए लगत्तैबाट प्रजिअ जोशीले नाकामा राजस्व छलेर घरायसी उपयोगको नाममा तस्करी गर्ने र दिनभरि सामान ओसार्ने विरुद्ध कडाइ गर्न निर्देशन दिएका छन् । 

सोही निर्देशन अनुसार अहिले यहाँको जमुनाहा नाकामा चेकजाँच र घरायसी प्रयोगको नाममा धेरै सामान ल्याउनेहरु विरुद्ध निकै कडाइ गरिएको छ ।

प्रतिक्रिया