Listen LIVE

सहकारी ठगीमा हरदेव बक्ससहित तीन जना पक्राउ

नेपालगञ्ज : अदालतको फैसला कार्यान्वयन टोलीले सहकारी ठगीका तीन जनालाई पक्राउ गरेको छ ।

नेपालगञ्जको सहकारी वित्तीय विकास संस्थामा ३७ करोडबढी रकम हिनामिना गरेको दुई तहको अदालतले फैसला गरेसँगै सहकारीका अध्यक्ष हरदेवबक्स चौधरी, सिद्विकुमार महर्जन र सुरत खटिकलाई पक्राउ गरिएको छ ।

अध्यक्ष चौधरीलाई ५ वर्ष कैद, ५० हजार जरिवाना तोकिएको छ । उनी यसअघि एक वर्ष कैद बसेर २५ लाख धरौटीमा छुटेका थिए । जिल्ला अदालतको फैसलालाई उच्च अदालत तुलसीपुर नेपालगञ्ज ईजलासले सदर गरेसँगै चौधरी, महर्जन र खटिक पक्राउ परेका हुन् ।

अदालतले सहकारी घोटालामा १९ जनालाई कसुरदार ठहर गरेको छ । त्यसमध्येमा सात जनाले कैद र जरिवाना तिरिसकेका छन् । अरु फरार रहेका छन् । कैद र जरिवाना काटेकासँग पनि बिगो भराउन बाँकी रहेको छ ।

अदालतले कसुरदारलाई कैद, जरिवाना र बिगोको सजाय सुनाएको छ । २०७६ असोज २८ गते जिल्ला अदालतमा सहकारी ऐन, ठगी र संगठित अपराधमा मुद्दा परेको थियो ।

२०८० पुस २६ गते जिल्ला न्यायाधीश ईन्द्रबहादुर कठायतको इजलासले ४१ जनामध्ये १९ जनालाई कसुरदार ठहर गरेको थियो । २०८२ जेष्ठ १४ गते उच्च अदालतले जिल्लाको फैसलालाई सदर गर्दै जिल्ला प्रशासनको नेतृत्वमा पीडित पक्ष ५ जनासहित विभिन्न निकायका प्रतिनिधि रहने गरी सहकारी सञ्चालक टोली बनाउने र त्यसले विशेष साभारण सभा बोलाउन आदेश दिएको पीडित संघर्ष समितिका सहसंयोजक आशुतोष शुक्लाले जानकारी दिए ।

जिल्लाको ठूलोमध्येको यो सहकारीमा १२ हजार ८ सय ४ जना बचतकर्ता छन् । त्यसमध्ये एक हजार ५ सय ६ जनाले जिल्ला प्रहरी कार्यालयमा सनाखत नै गरेका छन् ।

प्रतिक्रिया