Listen LIVE

बाँके निकुञ्जमा बाघको आहाराका लागि घाँसेमैदान विस्तार गरिँदै

नेपालगञ्ज : बाघ संरक्षणका लागि विसं २०६७ मा स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जमा घाँसेमैदान क्षेत्र बढाइने भएको छ । सो निकुञ्जमा बाघको आहारा बढाउनका लागि घाँसेमैदान क्षेत्र विस्तार गर्न लागिएको हो । 

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले निकुञ्जभित्र रहेको करौंतीघाँसे मैदानको क्षेत्रलाई थप ५० हेक्टर क्षेत्रफलमा विस्तार गर्ने तयारी भइहेको बताए । उनले भने, “हामीसँग हालसम्म ४०० हेक्टर क्षेत्रफलमा घाँसेमैदान छन् । यहाँ रहेका २५ वटा बाघका लागि घाँसेमैदान क्षेत्र बढाउन सकिएमा बाघलाई आहार जुटाउन सहज हुन्छ । त्यही उद्देश्यले करौंतीघाँसे मैदानको ५० हेक्टर क्षेत्रफल बढाउने तयारीमा छौँ ।”

प्रमुख संरक्षण अधिकृत कँडेलले बाघको संख्या बढेसँगै संरक्षणमा चुनौती थपिएको बताए । उनले बाघ संरक्षणका लागि आहारा प्रजातिका जनावरको संख्या बढाउनेतर्फ पनि निकुञ्जले ध्यान केन्द्रित गरेको जानकारी दिए । यसका लागि मृग, चित्तल, चौका, बँदेल, रतुवालगायत वन्यजन्तुको संरक्षण शुरु गरिएको कँडेलको भनाइ छ । उनका अनुसार एउटा बाघले वर्षमा औसतमा ५० वटा सिकार गर्छ भने एकपटकमा १५ देखि ४० किलोसम्म मासु खाने गर्छ । जुन एक हप्तासम्मका लागि हुन्छ । त्यसैले बाघ बढेसँगै तिनको सुरक्षा, निकुञ्जमा मानव प्रवेश नियन्त्रण, बाघको आहारा प्रजातिका वन्यजन्तुको संख्या थप वृद्धिलगायत चुनौती रहेको उनले जनाए । 

निकुञ्जका अनुसार करौंतीघाँसे मैदानमा बाघको सहजताका लागि तीनवटा सोलार जडित पानीपोखरी र एउटा मचान समेत बनाइएको छ । बाँकेमा सन् २००८ देखि बाघ गणना सुरु भएको थियो । सो समयमा निकुञ्जमा बाघ देखिएको थिएन तर हाल यहाँ बाघको संख्या २५ पुगेको छ । उक्त निकुञ्जले बाँके, दाङ र सल्यानको ५५० वर्ग किलोमिटर क्षेत्रलाई समेटेको छ । 

यस निकुञ्जको पूर्वी सिमाना शिवखोला, पश्चिम कोहलपुर सुर्खेत राजमार्ग, उत्तर चुरे पर्वत र दक्षिणपूर्व–पश्चिम राजमार्ग रहेको छ । जैविक विविधताको दृष्टिले महत्वपूर्ण मानिएको यस निकुञ्ज क्षेत्रमा आठवटा इकोसिष्टम, १२४ वनस्पति प्रजाति, ३५ प्रजातिका स्तनधारी, ३०० भन्दा बढी प्रकारका चराका प्रजाति, ५८ प्रजातिका माछा, २२ सरीसृप तथा ६ प्रकारका उभयचरहरू पाइन्छन् । 

११ प्रजातिका दुर्लभ तथा संकटापन्न स्तनधारी र ५० प्रजातिका अन्तर्राष्ट्रियस्तरमै दुर्लभ चराहरू निकुञ्जभित्र रहेका छन् ।

प्रतिक्रिया