नेपालगञ्ज : नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पस अगाडिको सडक क्षेत्र पछिल्ला दिनमा फोहोर फाल्ने थलोमा परिणत भएको छ। नेपालगञ्ज–जमुनाहा सडकखण्डको यो भागमा सडेका तरकारी, कुखुराका प्वाँख, आन्द्रा र अन्य कुहिने फोहोर पदार्थ सडकसम्म थुप्रिएपछि वरपर दुर्गन्ध फैलिएको छ। सडक हुँदै दैनिक सयौँ नागरिक ओहोरदोहोर गर्ने यो ठाउँमा दुर्गन्धका कारण आउजाउ गर्नै कठिन भएको सर्वसाधारण बताउँछन्।
फोहोर फाल्नेमा कुखुरा फ्रेस हाउसका संचालक मात्र नभई खसी र राँगा काट्ने व्यवसायीहरू पनि सामेल रहेको स्थानीयको आरोप छ । फोहोरको असरले महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू समेत हैरान भएका छन्। क्याम्पस अगाडि दुर्गन्धले अध्ययन वातावरणमा समेत असर पारेको विद्यार्थीहरूको गुनासो छ। फोहोरको समस्या क्याम्पस अगाडि मात्र सीमित छैन।
नेपालगञ्ज उपमहानगरपालिका–९ अन्तर्गत पिरलीपुर्वा, महापुर्वा र बाबु गाउँको बीचको क्षेत्र पनि फोहोर फाल्ने थलो बनेको छ। अज्ञात व्यक्तिहरूले रातको समयमा फोहोर फाल्ने गरेको र त्यसका कारण हिँडडुल गर्नसमेत कठिनाइ भएको स्थानीयले बताएका छन्। स्थानीय बासिन्दा इमाम खानका अनुसार, फोहोर फाल्ने व्यक्तिहरूको पहिचानका लागि निगरानी गरिएको भए पनि अहिलेसम्म कसैलाई समात्न नसकिएको छ।
उनले भने, “राति कसैले आएर फोहोर फालिदिन्छ। बिहान उठ्दा दुर्गन्धले सास फेर्न गाह्रो हुन्छ।” फोहोर व्यवस्थापनका लागि स्थानीयले पटक–पटक वडा कार्यालयमा उजुरी दिएका छन्। तर, वडा कार्यालयले कुनै ठोस कदम नचालेको उनीहरूको गुनासो छ।
नेपालगञ्ज उपमहानगरपालिकाले शहरलाई सफा र हरित बनाउने घोषणा गरे पनि, व्यवहारमा फोहोर व्यवस्थापनको अभावले जनस्वास्थ्य जोखिममा परेको देखिन्छ। स्थानीयले तत्काल निगरानी क्यामेरा जडान गरी फोहोर फाल्ने व्यक्तिमाथि कारबाही गर्न माग गरेका छन्। फोहोरको दुर्गन्ध र अस्वस्थ वातावरणका कारण नागरिक र विद्यार्थी दुवैले समान रूपमा पीडा भोगिरहेका छन्।
स्थानीय बासिन्दा भन्छन्, “सफा सहरको सपना देखाउने पालिकाले हामीलाई दुर्गन्धमा बाँच्न बाध्य बनाएको छ।” नेपालगञ्ज उपमहानगरपालिकाले यदि यस्ता स्थानहरूमा तत्काल फोहोर संकलन र नियन्त्रणका उपाय नअपनाए, शहरको सरसफाइ अभियानमाथि नै प्रश्न उठ्ने अवस्था बनेको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार