नेपालगञ्ज : बिहीबारदेखि नेपालगञ्जमा सञ्चालन भएको वरिष्ठ कलाकार श्यामानन्द सिंह ठकुरीको ‘श्यामानन्द वृहत् एकल कला प्रदर्शनी’ को अवलोकन गर्न आएका विद्यार्थी रमाएका छन् ।
कात्तिक ३० गतेसम्म सञ्चालन हुने एकल कला प्रदर्शनी बिहीबारदेखि नेपालगञ्ज १३ रामलीला मैदानस्थित सरस्वती मन्दिर परिसरमा सुरु भएको हो । कला प्रदर्शनीको नेपालगञ्जका विभिन्न विद्यालयबाट आएका विद्यार्थी कला प्रदर्शनी अवलोकन गर्दै रमाएका हुन् ।
कला प्रदर्शनी अवलोकन गर्न आएका नेपालगञ्जको वेस्ट जोन इंग्लिस मिडियम स्कुलमा कक्षा ७ मा अध्ययनरत विद्यार्थी प्रनिश कुँवरले आफूले पहिलो पटक यत्ति धेरै मूर्ति तथा चित्रहरू एक ठाउँमा देख्न पाएको बताए । “यत्तिका मूर्ति तथा चित्रहरू आँखै अगाडि पहिलो पटक देख्ने मौका पाएँ, धेरै कुराहरूको ज्ञान पनि पाएँ, हामीले किताबमा पढेका बस्तुहरू प्रत्यक्ष यहाँ देख्न पाइयो, मन रमाएको छ, खुसी भएको छु” कुँवरले भने ।
“सीप जानेपछि जस्तो चिजबाट पनि धेरै राम्रा सामग्रीहरू बनाउन सकिने रहेछ, सीप मात्र भएर पनि भएन इच्छा पनि हुनु पर्दोरहेछ” विद्यार्थी कुँवरले भने, “कलाकार सिंह ७० वर्ष पुगिसक्नुभएको छ, उहाँसँग भेट्ने मौका पनि पाएँ, धेरै कुराहरूको ज्ञान पनि पाएँ । इच्छा भएपछि काम गर्न उमेरले नछेक्ने रहेछ भन्ने बुझेँ ।”
अर्का विद्यार्थी प्रज्ञान रेग्मीले कला प्रदर्शनीमा आएर धेरै कलाकृति अवलोकन गर्न पाएको र यस्तै आफूले पनि बनाउन पाए हुन्थ्यो भन्ने लागेको बताए । “हजारौँ कलाकृतिहरू रहेछन्, हेरेर आफूले पनि यस्तै बनाउन पाए हुन्थ्यो भन्ने लाग्यो” वेस्ट जोन स्कुल कक्षा ७ मा अध्ययनरत विद्यार्थी रेग्मीले भने, “बनाउन कोसिस गरे त म पनि बनाउन सक्छु भन्ने आत्मबल बढेको छ, अब प्रयास गर्छु ।”
नेपालगञ्ज उपमहानगरपालिका वडा ९ बाँके गाउँ सरस्वती टोलका ७० वर्षीय वरिष्ठ कलाकार श्यामानन्द सिंह ठकुरीको ‘श्यामानन्द वृहत् एकल कला प्रदर्शनी’ बिहीबारदेखि नेपालगञ्ज –१३ रामलीला मैदानस्थित सरस्वती मन्दिर परिसरमा सुरु भएको छ । प्रदर्शनी कार्तिक ३० गतेसम्म सञ्चालन हुनेछ ।
श्यामानन्द कला तथा संस्कृति प्रतिष्ठानले आयोजना गरेको एकल कला प्रदर्शनीमा वरिष्ठ कलाकार सिंहले हालसम्म बनाएका हजारौँ विभिन्न हस्तकला, चित्रकला तथा मूर्तिकलाका सामग्रीहरू राखिएका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार