Listen LIVE

बर्दियामा हरित अर्थतन्त्र र फोहोर व्यवस्थापनसम्बन्धी तालिम

नेपालगञ्ज : बर्दियाको राजापुर नगरपालिकामा तीन दिने हरित अर्थतन्त्र र फोहोर व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न गरिएको छ ।

बाँके युनेस्को क्लबद्वारा प्लान इन्टरनेशनल नेपालसँगको सहकार्यमा सञ्चालित ग्रिन इकोनोमि परियोजनाअन्तर्गत “फोहरलाई मोहर” भन्ने मुख्य नाराका साथ आयोजित सो तालिममा ठाकुरबाबा नगरपालिका र राजापुर नगरपालिकाबाट १५÷१५ गरी कुल ३० जना युवाको सहभागीता रहेको थियो ।

कार्यक्रमको उद्देश्य युवालाई फोहोर व्यवस्थापन, फोहोर अलग–अलग गर्ने तथा वातावरणमैत्री व्यवहार अपनाउनेबारे आवश्यक ज्ञान प्रदान गर्नुका साथै, हरित उद्यम सञ्चालनमा आवश्यक प्राविधिक सीप विकास गर्दै आय–आर्जनका अवसर सिर्जना गर्ने लक्ष्य तालिमले राखेको बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि कुमार तुलाधरले बताए । 

तालिमका सहभागिहरुलाई सम्बोधन गर्दै राजापुर नगरपालिकाकी उप–प्रमुख मनकला कुमारी चौधरीले वातावरण संरक्षण, युवती तथा युवाहरूका लागि रोजगारीका अवसर सिर्जनामा परियोजनाले पु¥याइरहेको योगदान महत्वपूर्ण भएको बताइन् । उनले यस्ता कार्यक्रमले वातावरणको संरक्षणसंगै फोहोर व्यवस्थापनमा पनि सहयोग गर्ने बताइन् । 

परियोजना प्रमुख राधे कृष्ण थारूले तालिमका उद्देश्य र आवश्यकता बारे जानकारी गराएका थिए भने फील्ड सुपरभाइजर संजिता रिजाल र कञ्चन दहितले तालिमको व्यवस्थापनमा सहयोग गरेकी थिइन् । 

तालिमको मुख्य सहजीकरण रुबिना थपलियाले गरेकी थिइन् । उनले सहजीकरण गर्दै सहभागीहरूलाई फोहोर व्यवस्थापनका प्रकार, हरित उद्यम सञ्चालनका विधि तथा फोहोरबाट रसायनरहित अर्गानिक मल बनाउने प्रक्रियाबारे व्यावहारिक प्रशिक्षण दिइन् । 

तालिममा सहभागी युवाहरूले सिकेका सीपलाई व्यवहारमा उतारेर वातावरण संरक्षण र आत्मनिर्भर जीविकोपार्जनमा योगदान पुर्याउने अपेक्षा राखिएको बाँके युनेस्को क्लब र प्लान नेपालले जनाएको छ ।

प्रतिक्रिया