Listen LIVE

जङ्गलमा मृत भेटिएका दुबै किशोरीका शव परीक्षण नेपालगञ्जमा हुने

अछाम : जङ्गलमा मृत अवस्थामा भेटिएका दुई किशोरीको शव नेपालगञ्जमा पोस्टमार्टम हुने भएको छ। 

गोठालो गएका ढकारी गाउँपालिका–८ घोडासेनका सरस्वती र इशरा खड्का दुई किशोरीको शव पोस्टमार्टमका लागि नेपालगञ्ज लैजाने तयारी प्रहरीले गरेको हो। 

घटनास्थलकोे मुचुल्का बनाएर शव पोस्टमार्टमका लागि नेपालगञ्ज लैजान लागेको अछाम प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए । घटना शङ्कास्पद भएको र राम्ररी परीक्षणपछि आशङ्का नहोस् भनेर प्रहरीले शव नेपालगञ्ज लैजान लागेको हो।

घटनाका बारेमा अनुसन्धान भइरहेको तर अहिले नै यही हो भन्न नसकिने अछाम प्रहरी प्रमुखको भनाइ छ। शुक्रबार दिउँसो गोठालो गएकी सरस्वती र इशरा खड्काको शव शनिबार साँझ भेटिएको थियो। मृतक दुवै जना स्थानीय विद्याप्रबोधनी माविमा कक्षा ८ मा अध्ययरत थिए।

घटनाका बारेमा थप जानकारी लिन आइतबार बिहानै अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साल, प्रहरी प्रमुख भण्डारी र अन्य सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेको थियो।

प्रतिक्रिया