नरैनापुर (बाँके) : हिन्दु मुस्लिम एकता र नेपाल–भारतका नागरिकबिच सम्बन्ध प्रगाढ गर्ने प्रतीकका रूपमा बाँकेको नरैनापुरमा १५० वर्षदेखि हरेक वर्ष लाग्दै आएको प्रसिद्ध धार्मिक मेला सुरु भएको छ । प्रसिद्ध मुस्लिम सुफिसन्त हजरत खलिफा नूर अहमद शाहको मजारमा प्रत्येक वर्ष आयोजना गरिने धार्मिक मेला सोमबार रातिबाट सुरु भएको हो । सो मेलामा नेपालसहित छिमेकी मुलुक भारतका हजारौँ धार्मिक श्रद्धालुको सहभागिता रहेको छ ।
नेपालगञ्जदेखि करिब ४७ किलोमिटर पूर्वमा अवस्थित नरैनापुर गाउँपालिका–२ स्थित खलिफा नूर अहमद शाहको मजार सरिफमा लागेको उक्त मेलाको उदघाटन लुम्बिनी प्रदेशका पूर्वमन्त्री कृष्ण केसीले गरिन् । मेला एक सातासम्म सञ्चालन हुने छ ।
सो अवसरमा बोल्दै पूर्वमन्त्री केसीले खलिफा नूर अहमद शाहको मजारलाई प्रमुख धार्मिक पर्यटन स्थलका रूपमा विकास गर्ने प्रतिबद्धता जनाए । उनले मजारलाई व्यवस्थित बनाएको खण्डमा बाँकेको पर्यटन विकासमा ठुलो टेवा पुग्ने पनि बताए । नरैनापुरका हिन्दु, मुस्लिम मात्र नभई देशका विभिन्न भागका हिन्दु मुस्लिमसँगै सीमापारि भारतका पनि सयौँ हिन्दु, मुस्लिमको सहभागिता रहने सो मेलालाई धार्मिक एकताको मेलाका रूपमा पनि मनाइने गरिएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए ।
प्रसिद्ध सुफीसन्तको समाधिमा मेलाको बेला आउने हिन्दु मुस्लिम जो कोहीको पनि मनोकामना पूरा हुँदै आएकाले मेलामा आउनेको सङ्ख्या बर्सेनि बढ्दै गएको उनले बताए ।
विशेष गरेर राति लाग्ने सो मेलामा रातिको समयमा धार्मिक प्रवचन हुँदै आएको छ भने भाकल गरेकाले दैनिक रूपमा बाबाको समाधिमा फातिहा, नियाज तथा धार्मिक क्रियाकलाप गर्ने गरेका छन् । धार्मिक सद्भाव र एकताको प्रतीकका रूपमा रहेको सो मजारको संरक्षण र विकास सरकारले गर्नुपर्ने मेलामा सहभागीको माग छ ।
मेलामा सहभागी हुन नेपालगञ्जबाट पुगेका मुबारक सिद्दिकीले यो समाधिले धार्मिक एकता र सद्भावलाई बढाउन अहम् भूमिका खेलेको बताए । मेलामा सहभागी श्रद्धालुलाई खानेपानी, आवास तथा स्वास्थ्य उपचारका लागि विभिन्न शिविर सञ्चालन गरिएको नरैनापुर गाउँपालिकाले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार